शेरबहादुर सार्की
बाजुरा , कार्तिक १४ गते। बाजुराको बुढीगङ्गा नगरपालिका– ७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता विष्टले बाटोमै सुत्केरी सेवा दिएर आमा र छोरालाई बचाउँनु भएको छ।
शुक्रबार बिहान उहाँले बुढीगङ्गा नगरपालिका–७ सिमलकोटकी अन्दाजी २५ वर्षीया सिर्जना केसीलाई बाटोमै सुत्केरी सेवा दिएर आमा र शिशुलाई बचाउनुभएको हो।
केसीले यो भन्दा पहिला त्यसै झाली बर्थिङ्ग सेन्टरमा गर्भ चेकजाँच गराउँदै आउनुभएको थियो। केही दिन पहिला पनि उहाँले अछामको बयालपाटा अस्पताल गएर गर्भ चेक जाँच गराएर आउनु भएको थियो।
शुक्रबार बिहान उहाँलाई एकासी सुत्केरी व्यथा लागेपछि स्वाथ्यकर्मी विष्टले बाटोमै सुत्केरी सेवा दिनुभएको केसीका श्रीमान राजेश केसीले बताउनुभयो।
उहाँलाई व्यथा लागेको र बर्थिङ्ग सेन्टरमा आउन नसक्ने अवस्था फोनबाट मलाई जानकारी गरेपछि तुरुन्तै त्यहाँ पुगेर बीच बाटोमै सुत्केरी त्यो सेवा दिएकी हुँ। सकुशल जन्मिएको बच्चाको तौल तीन केजीको छ। आमा र बच्चाको दुबैको स्वास्थ्य सामान्य रहेको विष्टले बताउनुभयो।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                