गोरखापत्र अनलाइन
भरतपुर, कात्तिक १४ गते । भरतपुर, कात्तिक १४ गते । चितवनमा बिहिबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा इट्टा लोड गरेर पार्किङ गरी राखिएको ट्रकमा दुई यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको हो ।
सशस्त्रका सह–प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार अनुसार गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस र जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बस क्रमशः ना.६ख ८१३ नम्बरको ट्रकमा ठोक्किएका हुन् । दुर्घटना गएराति करिब पौने २ बजे (१ः४५) भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस सडकमा पल्टिएर बाटो अवरुद्ध भएपछि सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कमाण्डमा पुगेको टोलीले उद्धार गरी बिहान २ः५५ बजे एकतर्फी सुचारु गरेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई तत्कालै उद्धार गरी चितवनका विभिन्न अस्पतालहरूमा उपचारका लागि पुर्याइएको छ ।
घाइतेको अवस्था र उपचार
चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा पाँच जनाको घाइते उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीमध्ये आठ जनाको अवस्था मध्यम रहेको र बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूमध्ये उदयपुर, धनुषा, रौतहट, महोत्तरी र भारत मोतिहारीका यात्रु रहेका छन् ।
घाइतेहरूको टाउको, खुट्टा र हातमा सामान्यदेखि मध्यम चोटपटक लागेका प्रहरीले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत २० वर्षका सार्थक बाबु श्रेष्ठ (उदयपुर), ३९ वर्षीय सदाकत मिया (जनकपुर), ५२ वर्षीय नरेन्द्र शाह, ४१ वर्षीय मुकेश कुमार केसरी, १७ वर्षीय समिर अन्सारी लगायतका घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।
त्यस्तै, नेशनल सिटी अस्पतालमा उपचाररत अधिकांश घाइतेहरूको अवस्था सामान्य छ भने रौतहट बृन्दावनकी ६२ वर्षीया सुनिता देवी मिश्राको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालमा उपचाररत पाँच जनामध्ये तीन जना रौतहटका र दुई जना धनुषा तथा भारतका नागरिक छन् ।
बस चालक पक्राउ
बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बसका चालक धनुषा सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                