• १८ वैशाख २०८३, शुक्रबार

सिरिजङ्घाका विद्यालय आइतबार पनि खुल्ने

blog

तेल्लोकस्थित सिरिजङ्घा गाउँपालिकाको कार्यालय । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १८ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका विद्यालय आइतबार पनि खुल्ने भएका छन् । सङ्घीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि सिरिजङ्घाका विद्यालय आइतबार पनि खुल्ने भएका हुन् ।

सिरिजङ्घा गाउँपालिकाले साविक झैं शनिबार एक दिन मात्र सार्वजनिक बिदा दिने र आइतबार विद्यालय खुलाउने निर्णय गरेको हो । पठनपाठनमा असहजता आउने देखिएपछि गएको मङ्गलबारको कार्यपालिका बैठकले आइतबार पनि विद्यालय खुलाउने निर्णय गरेको गाउँपालिकाका शिक्षा अधिकृत डिल्लीराज खड्काले जानकारी दिनुभयो।

शिक्षा अधिकृत खड्काका अनुसार कार्यपालिकाको बैठकले निर्णय गरेसँगै पालिकाभित्रका शैक्षिक संस्थाहरू अर्थात विद्यालय आइतबार पनि खुल्ने भएको छ । विद्यमान पाठ्क्रममा तोकिएको पाठ्यभार पूरा नहुने अवस्था आउने देखिएपछि पालिकाले आइतबार पनि विद्यालय खुलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै हिमाली भू–भाग रहेको क्षेत्र तथा भौगोलिक विकटताका कारणले पनि आइतबार शैक्षिक संस्थाहरू खुलाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबो लिम्बूले जानकारी दिनुभयो । पढाइको कोर्ष पूरा नहुने र मौसमी अवस्थाले सबैतिर एउटै समय तथा अवधिसम्म विद्यालय खुल्ने स्थिति नहुँदा पढाइमा गम्भीर असर पुग्ने भएकाले आइतबार पनि विद्यालय खुलाउने निर्णय गरिएको उपाध्यक्ष डा. लिम्बूको भनाइ छ ।

उहाँका अनुसार कार्यपालिकाको बैठकबाट आइतबार शैक्षिक संस्थाहरू खुलाउने निर्णय भएसँगै निर्णय कार्यान्वयनका लागि पालिकाभित्रका विद्यालयलाई पत्राचार गरिसकिएको छ । सिरिजङ्घा गाउँपालिकाभित्र नौ वटा माध्यमिक तह र अन्य आधारभूत तहका गरी ४२ वटा सामुदायिक विद्यालय रहेका छन् । पालिकाका अनुसार केही निजी विद्यालय (बोर्डिङ) समेत सञ्चालित रहेका छन् ।

यता सरकारले यसअघि चैत २३ गतेदेखि लागु हुनेगरी सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको सूचना राजपत्रमा प्रकाशित भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शैक्षिक संस्थालाई निर्णय कार्यान्वयनका लागि परिपत्र गरेको थियो । 

यस्तै सरकारकै निर्णय अनुसार यही वैशाख १५ गतेदेखि विद्यालयहरूले विद्यार्थी भर्ना अभियान सुरु गरेका छन् । विद्यालयको पठनपाठन भने वैशाख २१ गते सोमबारदेखि सुरु हुने छ । जिल्ला सदरमुकामका बोर्डिङहरूले भने वैशाख दोस्रो साताको सुरुदेखि पठनपाठन सञ्चालन गरिरहेका छन् ।