• ५ चैत २०८२, बिहिबार

पानी माग्दै प्रशासन घेराउ

blog

रित्तो भाँडाका साथ जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पुगेका स्थानीय महिला ।तस्बिर : नन्द सिंह

रलिङ समाचारदाता

रलिङ (हुम्ला), चैत ५ गते । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको चरम अभाव भएको भन्दै स्थानीय महिलाले जिल्ला प्रशासन कार्यालय हुम्लामा घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालय हुम्लामा बजारको एकताचोक र काठे चुलीस्थित महिलाले घेराउ गरेका हुन् । 

१० दिनदेखि धारामा पानी नआएको गुनासो गर्दै सिमकोट गाउँपालिका–५ र ६ बजारस्थित स्थानीयले जिल्ला प्रशासन कार्यालय हुम्लामा धर्ना गर्दै प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको ध्यानाकर्षण गराएका छन् । धारामा पानी नआएपछि स्थानीय महिलाले खाली (रित्तो) ग्यालेन, ड्रम र बाल्टिन बोकेर जिल्ला प्रशासन कार्यालय हुम्लाको मूल गेटमा धर्ना दिएका हुन् । पटक पटक सिमकोट गाउँपालिकालाई खानेपानीको व्यवस्था गर्न स्थानीयले माग गरे पनि सुनुवाइ नगरेको स्थानीय उद्गम बुढाले गुनासो गर्नुभयो । धारामा पानी नआएपछि फागुन ३० गते सिमकोट गाउँपालिकालाई खानेपानीको समस्या समाधानका लागि निवेदन दिएको तर सुनुवाइ नभएको उहाँको भनाइ छ ।

बजारका केही धारामा धमिलो पानी आउने गरेको छ । सिमकोट खानेपानी उपभोक्ता समितिको चरम लापर्बाहीका कारण सिमकोट बजारमा बस्दै आएका सेवाग्राहीले सास्ती खेप्नु परेको गुनासो रहेको छ । गाउँपालिकाले सुनुवाइ नगरेपछि चैत ३ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको अर्का स्थानीय निर्मला ऐडीले बताउनुभयो । प्रशासन घेराउ गर्न पुगेका महिलाले खानेपानीको माग राखेर निवेदन पेस गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले भने खासै ठुलो समस्या नभएको र मङ्गलबार नै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमै बोलाएर छलफल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका अध्यक्ष भण्डारीले समाधान जतिसक्दो छिटो गर्ने सहमति गरेपछि धर्नामा बसेका महिला फिर्ता हुनुभएको छ ।”