• ७ भदौ २०८२, शनिबार

कोम्हेन्दो (कविता)

blog

मैले म्हेमेको ठिम जोगाउन

माटोको न्यानो काखमा 

रोपेको छु– कोम्हेन्दो ।

ह्याबेको पे जोगाउन,

कुलपुर्खाको छाया जोगाउन

हिमालको शिखरदेखि 

चुलोको धुवाँसम्म

रोपेको छु यसलाई– 

दिलको गहिराइमा ।

प्रविधिको पाखुरामा सुँघिन्छ जब

प्लास्टिकका फूलहरूको गन्ध,

त्यतिबेला झुल्किन्छ कोम्हेन्दो

साँच्चो माटोको सुवास बोक्दै ।

आधुनिकताको पगरीसँगै

बजारले पुराना कुरा बिर्साउँदै छ

कोम्हेन्दो 

धर्म, कर्म र माटोको कथा बोकेर

हाम्रो अस्तित्व रक्षामा 

सदैव फैलिरहेको छ ।

कुनै डिजिटल चमकले

सक्दैन खोस्न कोम्हेन्दोको मौलिकता,

पुर्खाहरूको श्रद्धा र संस्कारसँगै 

छ अजम्बरी र पवित्र ।

कृत्रिम फूलहरूको रङदेखि 

भागिरहेको छ समय पनि

कोम्हेन्दोको सादा रङले

रङ्गीन छ हाम्रो भूमि 

जो छ सधैँ हाम्रो इतिहासको 

निःशब्द साक्षी ।

कोम्हेन्दो– त्यो स्तम्भ,

जसले बर्सौंदेखि थामिरहेछ

हाम्रो संस्कृतिको जरा

न झुक्छ, न च्यापिन्छ यो

कुनै ‘वाद’ को भ्रमजालमा–

कोम्हेन्दो,

सिर्जनात्मक संस्कारको बिउ हो–

जसलाई माटोले अँगालो हाल्छ,

र हामी हृदयले पानी हाल्छौँ ।