• १५ असार २०८१, शनिबार

सत्यवती गाउँपालिकाका उत्कृष्ट १६ कृषक सम्मानित

blog

तिलाचन पाण्डे

तम्घास, असार १२ गते । सत्यवती गाउँपालिका गुल्मीले उत्कृष्ट १६ जना कृषकलाई नगदसहित सम्मान गरेको छ । पालिकाभित्रका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि पालिका स्तरीय र वडास्तरीय १६ जना कृषकलाई सम्मान गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख नारायण खनालले जानकारी दिनुभयो । 

पालिकास्तरीय उत्कृष्ट आठ जना कृषकलाई नगद छ हजार र वडास्तरीय आठ जना कृषकहरुलाई नगद पाँच हजार र प्रमाणपत्रले सम्मान गरिएको हो । पालिका स्तरीय उत्कृष्ट कृषकहरुमा तुल्सीराम पाण्डे, प्रेम शाही, कृष्णलाल न्यौपाने, रणबहादुर पुन, दुर्गाबहादुर बुढाथोकी, धनबहादुर पुन, थम्मनप्रसाद भट्टराई र जग्गनाथ ढकाललाई सम्मान गरिएको हो । 

यस्तै, वडास्तरीय उत्कृष्ट कृषकहरुमा तारा तरामु खत्री, सोमप्रसाद पाण्डे, इन्द्रबहादुर बिक, भोजराज ज्ञवाली, खगेश्वर ढकाल, छबिलाल ढकाल, भुपा भुसाल र प्रेमप्रसाद पुनलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा दैनिक २० लिटरभन्दा बढी दुध उत्पादन गर्ने १० जना कृषकलाई क्यान पनि वितरण गरिएको छ ।

पालिकाभित्रका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि सम्मान कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो । 

गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले व्यावसायिक रुपमा कृषि र पशुपालन गर्नेका लागि कृषकहरुलाई आग्रह गर्नुभएको छ । व्यावसायिक रुपमा कृषि र पशुपालन गर्नेका लागि पालिका सधैँ साथमा रहेको बताउनुभयो ।  

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले तीनै तहका सरकारले व्यवसायीक रुपमा कृषि र पशुपालनलाई जोड दिनुपर्ने बताउनुभयो । युवालाई स्वदेशमै टिकाइराख्नका लागि व्यावसायिक कृषि र पशुपालनै उत्तम रहेको उहाँको भनाइ छ ।