• १३ असोज २०८१, आइतबार

बाँदर हेरालुको प्रबन्ध

blog

तम्घास समाचारदाता

तम्घास, साउन ९ गते  । बाँदर आतङ्कले गुल्मीका किसान हैरान भएका छन् । जिल्लाका अधिकांश ठाउँमा बाँदरले मकै खाइदिने गरेको छ । बिहानदेखि बेलुकीसम्म बारीमै बसे पनि मकै जोगाउन मुस्किल परेको 

रेसुङ्गा नगरपालिका–र ९ उपल्लो तम्घासकी सीता मरासिनीले गुनासो गर्नुभयो ।  दुःख गरेर मकै लगाइयो, पाक्ने बेला बाँदरले खान थाल्यो, घरमा ल्याउन पाइने हो कि होइन भन्ने चिन्ता लागेको गुनासो उहाँको छ । धुर्कोट गाउँपालिका–४ जैसिथोक, सत्यवती–२ को चेहमी, पाहादी, सत्यवती–१ को अश्लेवा, चौरलगायतका दर्जनौँ ठाउँमा बाँदरले हैरानी पारेको छ । 

पहिले नगएको थुम्का, अश्लेवालगायतका ठाउँमा पनि अहिले बाँदर जान थालेको स्थानीय बताउँछन् । बाँदर नियन्त्रणका लागि गत वर्ष प्लास्टिकको पाइप प्रयोग गरे पनि अहिले त टेर्न छाडेको उहाँले बताउनुभयो ।  

बाँदरकै कारणले सत्यवतीको चेहमीमा १५ रोपनी जग्गा बाँझिएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ९ ले एक लाख बजेट बाँदर लखेट्नका लागि छुट्याएको छ । सो बजेटबाट अहिले दुई जनालाई बाँदर हेरालुका रूपमा राखिएको वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो  । 

वडाका कृषकहरूले ‘बाली संरक्षण समिति’ नै गठन गरेर स्थानीय दुई युवालाई बाँदर लखेट्न र सूचना प्रदान गर्नका लागि राखिएको वडा कार्यालयले जनाएको छ । 

ती दुई युवाले बाँदर आएको स्थान र सङ्ख्याबारे समितिलाई जानकारी दिने तथा समितिले स्थानीय कृषकलाई खबर गरी लखेट्ने गरेको समितिका सचिव चेतनारायण पन्थीले बताउनुभयो । 

यहाँको उपल्लो तम्घास, देउराली, चारिखोला र विद्युत्लाइनमा बसेर हेरालुले सूचना प्रवाह गर्ने गरेको पन्थीले बताउनुभयो । स्थानीय सरकारका प्रमुखहरूले पनि बाँदर आतङ्क बढेकाले नियन्त्रणका लागि साझा धारणा बनाउनुपर्नेमा जोड दिएका छन् । 

रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले किसानले लगाएको अन्नबाली बाँदर तथा बँदेलले नष्ट गरिदिने गरेकाले जङ्गली जनावरलाई नियन्त्रण गर्न नसके भोकमारी लाग्ने गुनासो गर्नुभयो ।