• २४ असार २०८२, मङ्गलबार

नेपाल ललितकलाको १८ औँ प्राज्ञसभा सम्पन्न

blog

काठमाडौँ, असार २४ गते । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १८ औँ प्राज्ञसभा मङ्गलबार सम्पन्न भएको छ।  सभाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली तथा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।  

समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभाले ललितकला क्षेत्रमा नयाँ आधार तय गर्ने विश्वास व्यक्त गर्नुभयो।  प्रतिष्ठानले आगामी दिनमा खोज, अनुसन्धान तथा प्रकाशनको कामलाई थप जोड दिने बताउँदै कलालाई पर्यटन प्रवर्धनसँग जोडेर काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो।  

प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले प्रतिष्ठानले अहिले गरिरहेको कार्य सराहनीय रहेको बताउँदै प्राज्ञ सभा सफलताको शुभकामना व्यक्त गर्नुभयो। 

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले स्रष्टाको भूमिका समाजलाई सकारात्मक दिशातर्फ लाने, सकारात्मक ऊर्जा प्रदान गर्ने हुनुपर्ने बताउनुभयो।  

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञ सभा सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न क्षेत्रबाट गरिने अनुसन्धानको काम प्रभावकारी हुनुपर्ने बताउनुभयो।  


सांस्कृतिक संस्थानका महाप्रबन्धक-सदस्य सचिव किरण बाबु पुनले सांस्कृतिक संस्थानका तर्फबाट सहकार्य, समन्वय र ऐक्यबद्धताका कुराहरूमा वर्तमान नेतृत्वले प्रतिष्ठानसँग सहकार्यका हातहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले प्रतिष्ठानले सीमित स्रोत र साधनकाबिच गरेका कामहरू प्रशंसनीय रहेको र यस्ता कार्यहरूमा सधैँ मन्त्रालयको साथ रहने बताउनुभयो।  

कार्यक्रमको बन्द सत्रमा आगामी आ.ब. २०८२/८३ को नीति तथा कार्यक्रम, योजना, बजेटलगायतका ललितकलाका विविध विषयमा छलफल भएको थियो।