• २४ असार २०८२, मङ्गलबार

विलासिता करको विरोध

blog

विलासिता करको विरोधमा फुङ्लिङमा निकालिएको मोटरसाइकल र्‍याली। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २४ गते।  ताप्लेजुङका सुनचाँदी व्यवसायीले सुन र हिरामा लगाइएको करको विरोधमा मोटरसाइकल र्‍याली निकालेका छन्।  सरकारले आगामी आर्थिक वर्षको विधेयकमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा मोटरसाइकल र्‍याली निकाएिको हो। 

पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङको अगुवाइमा मङ्गलबार सदरमुकाम फुङ्लिङ मोटरसाइकल ¥याली निकालिएको हो।  सुनमा लगाएको दुई प्रतिशत विलासिता कर खारेज गर, बहुमूल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर, सुनचाँदी भन्सार दर नेपाल र भारतमा समान रुपमा कायम गरजस्ता प्ले कार्डसहित व्यवसायीले मोटरसाइकल र्‍याली गरेका हुन्। 

फुङ्लिङ बजारको टुक्रे लाइनदेखि सुरु गरिएको मोटरसाइकल र्‍याली तोक्मे हुँदै बजार पक्रिक्रमपछि वीरेन्द्रचौकमा पुगेर कोणसभा गरिएको थियो।  कोणसभालाई सम्बोधन गर्नुहुँदै पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घका जिल्ला अध्यक्ष गङ्गाराम शङ्खरले कर खारेज नगरेसम्म सुनचाँदी व्यवसायीको आन्दोलन जारी रहने बताउनुभयो। 


सुनचाँदी व्यवसायीहरुको संस्थाको केन्द्रीय निर्णयअनुसार जिल्लामा करको विरोध गरिएको पनि अध्यक्ष शङ्खरले बताउनुभयो।  व्यवसायी आन्दोलित बनेको महिनौ बित्दासमेत सरकारले कुनै वास्ता नगरेको र अझै वार्तामा बोलाएर समस्या समाधानको पहल नभए आन्दोलनलाई सशक्त बनाउँदै यातायात बन्द गर्नेसमेत शङ्खरले चेतावनी दिनुभएको छ।  

व्यवसायीहरुले सुन तथा हिराजन्य वस्तुमा लगाएको नयाँ कर प्रावधानले व्यवसायमा नकारात्मक असर पर्ने र उपभोक्तालाई समेत भार पर्नेभन्दै खारेजीको माग गरेका हुन्।  सरकारले लगाएको विलासिता कर र मूल्य अभिवृद्धि कर अव्यावहारिक भएको र यसले व्यवसायलाई थप सङ्कटमा पार्ने पनि सुनचाँदी व्यवसायीले उल्लेख गरेका छन्।  ताप्लेजुङका सुनचाँदी व्यवसायीले करको विरोधमा सोमबार पनि प्रदर्शन गरेका थिए।