• २५ असार २०८२, बुधबार

पहिरोमा परेर श्रीमानको मृत्यु, श्रीमती घाइते

blog

बिन्दु थापा 

पाल्पा, असार २४ गते । पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिरनजिक खसेको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते हुनुभएको छ ।

मंगलबार बेलुकी ६ बजेतिर तिनाउ गाउँपालिका –३, माथिलो शिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोले लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई लागेको थियो । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका –६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको छ ।

मोटरसाइकलको पछाडी बस्ने उहाँकी श्रीमती कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

दिउँसो ४ बजेतिर एकाएक माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटर तल तिनाउ किनारमा पुगेको प्रहरीको भनाइ छ । घाइते भण्डारीको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरी चौकी दोभानका प्रमुख रुम केसीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सो क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । पानी परेको बेलामा जुनसुकै बेलामा पहिरो खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।