• ७ जेठ २०८१, सोमबार

स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

blog

सन्तोष सुवेदी

कास्की, साउन ९ गते  । कोभिडको सङ्क्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। 

बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलहरूका मास्क अनिवार्य र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ। 

त्यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता बाक्लो जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्नेजस्ता जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ।  कोभिड १९ सङ्क्रमणको पछिल्लो अवस्था र सोको तयारी तथा प्रतिकार्यका अतिरिक्त रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि, औजार/उपकरण एवं जनशक्तिको व्यवस्थापन गर्न तथा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ। 

मानिसको बाक्लो जमघट र भीडभाड हुने स्थानहरूमा कोभिड–१९ नमुना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलिन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख सचिव रविलाल पन्थले जानकारी दिनुभयो। 

कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिहरूलाई खोप लगाउन अनुरोध गर्ने निर्णय भएको प्रमुख सचिव पन्थले बताउनुभयो। कोभिड–१९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा सङ्घीय सरकारले व्यवस्था गरेको १११५ नम्बर वा फोनमार्फत चिकित्सकीय सेवा आवश्यक परेमा निःशुल्क हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न आग्रह गरिएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क हटलाइन नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको स्वास्थ्य सचिव डा. श्रीराम तिवारीले जानकारी दिनुभयो। 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तीन तहका सरकारको समन्वयकै कारण विगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम भएको उल्लेख गर्दै सोहीअनुसार अगाडि बढ्न निर्देशन दिनुभएको छ। 

“महामारी कसरी बढ्दै जाने हो, त्यसको आकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ,” मुख्यमन्त्री पोखरेलले भन्नुभयो। अस्पतालहरूमा आवश्यक सामग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। 

खोपको प्रबन्धका अतिरिक्त पीसीआर परीक्षण, अस्पतालहरूमा उपचार शøयाको प्रबन्धलगायत विषयमा कति पनि कमजोरी नदेखिने गरी काम गर्न उहाँले आग्रह गर्नुभएको छ।

कोभिडको प्रभाव घट्दै गएको र खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री पोखरेलले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गर्नुभएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालहरूमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी दिनुभयो। 

कोभिड कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि ओएन्डएम गरेर नियुक्त गर्न लागिएको उहाँले बताउनुभयो।