• ७ जेठ २०८१, सोमबार

छोरी पेवा बचत कार्यक्रम

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), साउन १० गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ लागू गरेको छ । तीन वर्षअघि सुरु गरिएको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । 

सो कार्यक्रम लागू भएपछि बालविवाह न्यूनीकरण, बालिकाको शिक्षामा पहुँच र चेतनास्तरमा वृद्धि भएको विश्वास गरिएको छ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले चालू आर्थिक वर्षमा सबै वडामा चेतनामूलक कार्यक्रम गर्न लागेको छ । 

यस कार्यक्रमको सञ्चालनका लागि कार्यविधि निर्माण गरेको छ । सो कार्यविधिअनुसार २०७६ साउन २१ गतेपछि जन्मने छोरीलाई मासिक एक सय रुपियाँ पालिकाले दिने र अभिभावकले थप एक सय जम्मा गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।  

पालिकाभित्र बढ्दो बालविवाहलाई न्यूनीकरण र शिक्षामा पहुँच बढाउन तीन वर्षअघि थालिएको ‘छोरी पेवा बचत कार्यक्रम’ मा सहभागीको सङ्ख्या बढाउन सबै वडास्तरमा चेतनामूलक कार्यक्रम गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । यस किसिमको कार्यक्रम बजेटको आकारले सानो भए पनि सन्देश भने आमूल परिवर्तनका लागि भएको उहाँ बताउनुहुन्छ । यो कार्यक्रमबाट सामाजिक रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

उहाँका अनुसार अहिलेसम्म २६ जना बालिका यो कार्यक्रममा सहभागी भएका छन् । आगामी दिनमा सहभागीको सङ्ख्या बढाउन अभिभावकलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएको छ ।  आठवटै वडामा गाउँपालिकाले तोकेको सहकारी संस्थामा छोरीका नाममा खाता खोलेर गाउँपालिका र अभिभावकले मासिक एक/एक सय रुपियाँका दरले बचत गर्ने गरिएको छ । गाउँपालिकाले १० वर्षसम्म र अभिभावकले २० वर्षसम्म मासिक रूपमा खातामा रकम जम्मा गरिदिने र छोरी २० वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । 

बालिका १० वर्षदेखि २० वर्ष नपुग्दासम्म अभिभावकले आफ्नो आम्दानीको पाँच प्रतिशत रकम सो खातामा अनिवार्य रूपमा जम्मा गरिदिनुपर्ने प्रावधान राखिएको छ । 

बालिकाको खातामा जम्मा हुने रकम २० वर्षअघि शिक्षालगायतका अत्यावश्यक कार्यका लागि निकाल्नु परेमा गाउँपालिकाको स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । 

सो सर्त पालना नगरे खातामा अभिभावले जम्मा गरेको पैसासमेत गाउँपालिकाले नै फिर्ता लिने कार्यविधिमा उल्लेख गरिएको छ । बालविवाह न्यूनीकरण, संस्थागत प्रसूति सेवालाई प्रोत्साहन, सहकारीको प्रवद्र्धन, बचत गर्ने बानीको विकास, गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने र लैङ्गिक विभेदको सामाजिक समस्या घटाउन छोरी पेवा कार्यक्रम सञ्चालन गरिएको पालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । यस्तो सुविधा पाउन दुई सन्तान मात्र जन्माउनुपर्ने, स्वास्थ्य संस्थामा प्रसूति हुनुपर्ने, २० वर्षअघि विवाह गर्न नपाउने, अभिभावकले बचतलाई २० वर्षसम्म निरन्तरता दिनुपर्ने सर्त पालना गर्नुपर्ने प्रावधान राखिएको छ ।

खाता खोलिने सहकारी संस्थाले नियमअनुसार साधारण सभा र अधिवेशन गरेको हुनुपर्नेछ । कार्यक्रम सामान्य खालको भए पनि यसले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने भनाइ पालिका अध्यक्ष भण्डारीको छ । यो कार्यक्रम लागू भएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने सङ्ख्यामा वृद्धि र शिक्षामा पहुँच बढ्ने अपेक्षा गरिएको छ ।