काठमाडौँ, वैशाख ७ गते । असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासीको एक झर सिमसिमे पानीमै भागाभाग भएको छ । बर्खाभरि पनौतीमा डेरा खोजेर बसेका उनीहरू हिउँद लागेपछि पशुपालन गर्न सकिन्छ भनेर पुरानो थातथलोमा टिनले बेरेर बनाएको गोठमा फर्किएका थिए । वैशाख ३ गते पानी पर्न थालेपछि उनीहरूको फेरि भागाभाग भएको हो ।
असोजको बाढीले जोगिएको घरमा आश्रय लिएका र नयाँ टिनले बेरबार पारेर बसेका उनीहरू एक झर पानीमै साना खोल्सामा लेदोसहितको बाढी आउन थालेपछि असोजकै जस्तो घटना हुने डरले भागाभाग गरेका हुन् । दिनभर थातथलोमा बस्ने र साँझ परेपछि डेरामा फर्कने उनीहरू वैशाख ३ को पहिलो झर पानी परेपछि झन् त्रासमा परेका हुन् ।
पनौती–१२ का वडाध्यक्ष जयराम केसी भन्नुहुन्छ, “हामीले तत्कालै गर्न सक्ने काम गरिसकेका छौँ, पुनर्निर्माण र पुनस्र्थापनामा सङ्घीय सरकारले प्रभावकारी समन्वय नगरिदिँदा समस्या बढिरहेको छ ।” रोसी खोलामा असोज ११ र १२ गते आएको बाढीपहिरोबाट उनीहरूका पक्की घर ध्वस्त भएपछि स्थानीयको उठिबास लागेको सात महिना बितिसक्दा पनि उच्चस्तरीय नेतृत्वबाट अवलोकनबाहेक पुनर्निर्माणका काम हुन नसकेको पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले बताउनुभयो ।
“हामीसँग भएको स्रोत प्रयोग गरेर सडक खुलाउने र अत्यावश्यक सेवा सञ्चालन गरेका छौँ, पुनर्निर्माण र पुनस्र्थापनामा प्रदेश र सङ्घीय सरकारले पनौतीमा स्थानीय जनताको पिरमर्काको सम्बोधन गर्न सकेको छैन,” उपप्रमुख बन्जाराले भन्नुभयो ।
उहाँले भन्नुभयो, “एक झर सिमसिम पानीमै कोलाती भूमिडाँडावासीसँगै बाढीपहिरो प्रभावित क्षेत्रमा भागाभाग भइसकेको छ । हामीले हाम्रो स्रोत प्रयोग गरेर खोला गहि-याउने प्रयास गरिरहेका छौँ ।”
काभ्रेपलाञ्चोकमा बाढीले सबैभन्दा धेरै असर पारेको पनौती नगरपालिका–१२, भूमिडाँडा रोसी बजार खण्डहरमा परिणत भएको थियो भने सोही वडामा रहेको कोलाती बजार उजाडिएको थियो ।
स्थानीय राजेन्द्र केसीले सात महिनामा देशका ठुला मान्छे आएर हेरेर फर्केर गए पनि उपलब्धि भने शून्य नै भएको उल्लेख गर्नुभयो । उहाँले मुख्य बर्सात सुरु नहुँदै सामान्य बर्सातमा नै खोलाको वितण्डाबाट जोगिएका बस्तीका मानिस पोका बोकेर डाँडातिर उक्लन बाध्य भएको बताउनुभयो । राज्यको निकायले बाढीपीडितका लागि चासो नदिएको उहाँको गुनासो छ । रोसी र कोलाती बजारमा मात्रै कम्तीमा १९३ घर विस्थापित भएको वडा कार्यालयसँग तथ्याङ्क छ ।
रोसीको पानीबाट सिँचाइ हुने उर्वरभूमि र पशुपालनका लागि निकै उपयोगी स्थान भएकाले उनीहरू गाउँमै बसेर खेतीपातीमा रमाउँथे । बर्खा कम भएपछि उनीहरू केही गर्न सकिन्छ भनेर थातथलो फर्किएका थिए । पहिलो बर्सातमै भयको स्थिति सिर्जना भएपछि अबको बर्सात भयावह बन्ने उनीहरूको आकलन छ ।