• २२ मङ्सिर २०८२, सोमबार

ब्याक गर्ने क्रममा ब्रेक फेल भएर बस दुर्घटना, चालक घाइते

blog

सडकबाट तल खसेको अवस्थामा बस । तस्बिरः शङ्कर केसी

शङ्कर केसी
सल्यान, मङ्सिर २२ गते ।
रोकिराखेको बस ब्याक गर्ने क्रममा ब्रेक फेल भएर दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–७ कोटबारामा सोमबार बिहान भएको बस दुर्घटनामा ३५ वर्षीय चालक लालसिंह बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहान करिब ७ः३० बजे रोकेर राखिएको ना. ४ ख.६२३२ नम्बरको खाली बस स्टार्ट गरी पछाडि ब्याक गर्ने क्रममा ब्रेक फेल भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएसँगै बस सडकबाट करिब ४०–४५ मिटर तल खस्दा चालकको बायाँ खुट्टा र शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ ।

घाइतेको अवस्था मध्यम रहेको र तत्काल उपचारका लागि बागचौर पोलिक्लिनिक थारमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । घटनाको जानकारी आएलगत्तै इप्रका थारमारेबाट ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।