• २१ मङ्सिर २०८२, आइतबार

सरावलमा १५ शय्याको आधारभूत अस्पताल

blog

अस्पताल निर्माणका लागि छुट्याएको सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदै ।

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, मङ्सिर २१ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको  छ ।

प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार सरावल–५, धनगढवास्थित करिब दुई बिघा क्षेत्रफल रहेको उक्त जग्गामा सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरिरहेको हो ।

सरावल गाउँपालिकाले दीर्घकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल निर्माण कार्यलाई तत्कालै अघि बढाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीका कामलाई अन्तिम चरणमा पुर्‍याएको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।

अस्पताल निर्माणका लागि छुट्याएको सार्वजनिक जग्गाको अतिक्रमण पूर्णरूपमा हटाएको छ । अतिक्रमण हटाइएसँगै गाउँपालिका अस्पताल निर्माणको पूर्वतयारीमा जुटेको छ ।

अस्पताल निर्माण स्थलमा अटेरी गर्दै अवैध रूपमा बस्दै आएका  घरहरूलाई  हटाइएको हो । अस्पताल निर्माणका लागि अवरोध भएपछि पटकपटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गरिए पनि अटेरी गर्दै आएकोले जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयहरूको सक्रियतामा अतिक्रमण गरी बनाइएका रामवृक्ष कँहार र बैजनाथ कँहारको कच्ची घर डोजर लगाएर भत्काइएको छ   ।

अब वर्ष भित्रै अस्पताल निर्माणको काम सुरु गरिने र गाउँपालिका भित्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो । 

सरावलमा आधारभूत स्तरको अस्पताल नहुँदा सदरमुकाम परासीसहित बर्दघाट तथा बुटवल, भैरहवा लगायतका क्षेत्रमा स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता रहेको छ ।