गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ८ गते । हेलो सरकारमा निःशुल्क रूपमा (फ्री भिसा) मा विदेश काम गर्न जान पाइन्छ कि पाइँदैन भनेर सबैभन्दा बढी सोधीखोजी हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जान सेवा शुल्कबापत १० हजार रुपियाँभन्दा बढी लिए कारबाही गर्ने निर्णय गरेपछि जनताले हेलो सरकारमार्फत सोधीखोजी गर्न थालेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार नयाँ सरकार बनेपछि विदेश निःशुल्क जान पाइन्छ पाइँदैन भनेर सबैभन्दा बढी हेलो सरकारमा गुनासो आउने गरेका छन् । “हेलो सरकारमा दैनिक एक हजार दुई सयदेखि एक हजार तीन सय गुनासो आउँछन्, त्यमध्ये तीन सय जति निःशुल्क रूपमा विदेश जान पाइन्छ कि पाइँदैन भनेर हुन्छन्,” उहाँले भन्नुभयो, “दोस्रोमा शिक्षासँग सम्बन्धित गुनासो आउँछन् । त्यसमा शैक्षिकसत्र हुनुभन्दाअघि भर्ना हुन थाल्यो, विद्यालयले धेरै शुल्क लियो । स्कुलले किताब र पोसाक बिव्रmी गरेर व्यापार गर्न थाल्यो भन्ने खालका गुनासा आउँछन् ।” सरकारले भर्ना अभियान वैशाख १५ गतेबाट गर्ने निर्णय गरेपछि जनताबाट शिक्षासँग सम्बन्धीत अनेक गुनासा गर्न थालेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह भएपछि वैदेशिक रोजगारीमा जान सेवा शुल्कबापत १० हजार रुपियाँभन्दा बढी लिन नपाउने निर्णय भएको थियो । वैदेशिक रोजागरीमा जाने धेरै सेवाग्राही ठगिने प्रवृत्ति भएपछि सरकारले धेरै पैसा असुलेमा कारबाही गर्ने निर्णय गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरलेले मलेसियासहित खाडी मुलुकमा जाने कामदारका हकमा सेवा शुल्कवापत १० हजार रुपियाँभन्दा बढी लिएको पाएमा कारबाही हुने जानकारी दिनुभयो । “वैदेशिक रोजगारीमा जाने कामदारबाट धेरै पैसा लिने प्रवृत्ति भएपछि मलेसियासहित खाडी मुलुकमा जाने कामदारले १० हजार रुपियाँभन्दा बढी सेवा शुल्क तिर्नु पर्दैन,” उहाँले भन्नुभयो, “यदी कुनै म्यानपावर वा व्यक्तिले त्योभन्दा बढी रकम असुलेको उजुरी आएमा कानुनबमोजिम कारबाही हुन्छ ।”
हेलो सरकारमा जनताले निःशुल्क फोन नम्बरसहित सामाजिक सञ्जाललगायत डिजिटल प्लेटर्फमबाट गुनासो गर्ने व्यवस्था भएपछि धेरै सहज भएको सहसचिव अर्यालले बताउनुभयो । “हामीलाई गुनासो आएलगत्तै सम्बन्धित निकायमा पठाउँछौँ । उत्तिकै गुनासो उत्तिकै राखेर बस्दैनौँ । जनताको गुनासो सम्बोधन भयो कि भएन भनेर फलोप पनि उत्तिकै गछौँ,” उहाँले भन्नुभयो ।
यसअघि हेलो सरकारमा प्रहरी प्रधान कार्यालय, विद्युत् प्राधिकरण, सूचना प्रविधि विभागलगायत जनताले प्रत्यक्ष सेवा लिने १० निकायमा सबैभन्दा बढी गुनासा गर्ने गरेका थिए । अहिले वैदेशिक रोजगारी र शिक्षाका गुनासा बढी आएका हुन् । २०७६ साल साउन १ गतेदेखि चैत मसान्तसम्म कुल ८९ हजार ९५३ वटा गुनासो आएकोमा ५६ हजार ३३१ वटा फस्र्योट भएको अर्यालले जानकारी दिनुभयो । “हामीले गुनासो टिपाउन फोन नम्बर चार वटा एक र ९८५११४५०४५ फोन नम्बरसहित भौतिक रूपमा उपस्थित भई गुनासो टिपाउने व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो, “अरू डिजिटल प्रविधिको प्रयोग गरेर हेलो सरकार पोर्टल, नागरिक एप, इमेल, ह्वाट्सएप, एक्स, फेसबुक, साइबर लगायत ११ निकायबाट गुनासा टिपाउने व्यवस्था छ ।”