काठमाडौँ, मङ्सिर १० गते । पशु र कृषिमा यसअघि नदेखिएका रोग, किरा र सङ्क्रमणले किसानलाई हैरानी पारेको छ । आधुनिक खेती प्रणालीको विकाससँगै हाइब्रिड बिउको प्रयोग र पशुमा नयाँ जातको विकासका अभ्यास सुरु भएपछि उत्पादनमा वृद्धि भएको छ । यसले विश्वका विभिन्न मुलुकबाट छिरेका नयाँ सङ्क्रमण र रोगले किसानले ठुलो क्षति बेहोर्न बाध्य भएका छन् ।
आत्मनिर्भरता बढाउन उच्च नस्लको हुने क्रम बढे पनि त्यसले रैथानेलाई विस्थापित गर्न थालेको छ । मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रियस्तरमा हुने आवतजावत र ओसारपसारले डरलाग्दो समस्या ल्याएको कृषि क्षेत्रका अनुसन्धानकर्ता उद्धवप्रसाद सापकोटाले उल्लेख गर्नुभयो । खुला सीमा र कमजोर क्वारेन्टाइन (चेकजाँच) का कारण नेपालमा त्यस्ता सङ्क्रमणको जोखिम बर्सेनि बढिरहेको छ । त्यसमा सरकारी निकायले प्रभावकारी कदम चाल्न नसकेको पोल्ट्री व्यवसायी दयाराम महतले बताउनुभयो ।
रैथाने जातमा नदेखिएको समस्या पछिल्लो समय वर्णशङ्कर (हाइब्रिड) जातको बाली, बोटबिरुवा र पशुमा धेरै देखिने गरेको छ । विदेशबाट भित्र्याइएका बाली तथा पशुपन्छी र माछामा रोगको सङ्क्रमण बढ्दो रूपमा देखा परिरहेको सापकोटाले बताउनुभयो ।
चिकित्सक डा. सुदीप हुमागाईंले समयमै सावधानी अपनाउन नसक्ने हो भने किसानले यस्ता वर्णशङ्कर जातबाट ठुलो क्षति बेहोर्नुपर्ने स्थितिको सिर्जना हुने बताउनुभयो । यो समस्या पोल्ट्री क्षेत्रमा पनि रहेको उहाँले उल्लेख गर्नुभयो ।
कृषि र पशुमा यसअघि नदेखिएका रोग, किरा र सङ्क्रमणले किसानले दैनिक समस्या भोगिरहेका छन् । “हामीले आफ्ना सन्तानको झैँ माया गरेर स्याहार गरेको आलु, गोलभेँडा र तरकारीमा धेरै समस्या झेलिरहेका छौँ,” लामो समयदेखि टनेल खेतीमा सक्रिय इन्दु श्रेष्ठले भन्नुभयो । उहाँले रैथाने बिउमा नदेखिएको समस्या अहिले हाइब्रिडमा लगातार झेलिरहेका बताउनुभयो । धेरै उत्पादनको नाममा विदेशी बिउको भरपर्दा यस्तो समस्या परेको यहाँले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत दीपकप्रसाद पौडेलले विश्वका विभिन्न मुलुकबाट पशु र खेती प्रणालीलाई ध्वस्त पार्ने खालका रोग भित्रिएको बताउनुभयो । उहाँले नेपालमा विभिन्न कालखण्डमा विश्वका विभिन्न स्थानबाट सङ्क्रमण फैलिएको उल्लेख गर्नुभयो । उहाँले बिउ र बिषादीको प्रयोगमा रैथानेलाई ध्यान पु¥याउन अनुरोध गर्नुभयो । अफ्रिकी प्रजातिका ठुला शङ्खे किराका कारण नेपाली किसानले क्षति बेहोरेका छन् । नेपालको धेरै जिल्लामा देखिएका शङ्खे किरा नेपालका रैथाने होइनन् ।
पहाड र तराईका जिल्लाका किसान शङ्खे किराले आक्रान्त बन्दा उच्च पहाडी र हिमाली जिल्लाका किसानको बगानको स्याउमा कत्ले किराको प्रकोप बढेको छ । सन् १९६२ यता कत्ले किराको प्रकोपले किसानले हैरानी बेहोरिरहेका छन् । शीतोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङका निमित्त प्रमुख पद्मनाथ आत्रेयले कत्ले किरा स्याउको मुख्य हानिकारक किरामा पर्ने बताउनुभयो ।
माटोमा समेत आलु कुहिने दादे सङ्क्रमणले नेपाली किसानले हैरानी बेहोरिरहेका छन् । हिमाल, पहाड र तराई तिनै क्षेत्रमा उत्पादन हुने आलुमा यो समस्या देखा परेको छ । सङ्क्रमणले आलुको बजारीकरणमा समस्या र उत्पादनमा १० प्रतिशतसम्म गिरावट आउने गरेको छ ।
सुन्तला जातका फलफूलमा औँसाको माध्यमबाट नोक्सान पुग्न थालेको ४० वर्ष भएको छ । २०४२ सालबाटै सुरु भएको यो सङ्क्रमण पछिल्लो १० वर्षमा झनै विकराल भएको छ । सुन्तला जात फलफूल खेती हुने नेपालको पहाडी जिल्ला सङ्खुवासभा, धनकुटा, रामेछाप, सिन्धुली, तेह्रथुम, काभ्रेपलाञ्चोक, गोरखा, पाँचथरमा ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगाले समस्या पारिरहेको छ ।
बाली संरक्षण अधिकृत कृष्ण धितालले सुन्तला जातका फलमा औँसा परी कुहिने जटिल समस्याका रूपमा देखा परेको बताउनुभयो । यसको फैलावट उच्च विन्दुमा पुगेको उहाँले जानकारी दिनुभयो । यो नेपालको स्थानीय रोग होइन । सन् २०१६ बाट फैलिएको गोलभेँडाको पात खस्ने समस्या टुटा किराको कारणले भएको पुष्टि भएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार यो समस्याका कारण नेपाली किसानले ठुलो क्षति बेहोरेका छन् । नेपालमा पछिल्लो समय मकै र कोदोमा समेत अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । सन् २०१९ मा नै नेपाल भित्रिएको यसले सबैभन्दा धेरै क्षति मकैमा पारिसकेको छ ।
पशुपालनमा पनि उस्तै समस्या
कृषि क्षेत्रमा मात्रै होइन, पशुपालन र कुखुरापालनमा पनि देसी रोगले समस्या पारिरहेको छ । पशुपालनको क्षेत्रमा सबैभन्दा धेरै क्षति पारेको ‘लम्पी स्किन’ रोगको सङ्क्रमण अफ्रिकामा मात्रै सीमित रहेकोमा सन् २०१२ पछि युरोप, एसिया, काजकिस्तान, भारत हुँदै नेपालमा २०७७ सालमा प्रवेश गरेको हो । २०७९ साल चैतदेखि सुर भएर नेपालका ७७ जिल्लामै पुग्यो । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले नेपालको पशुपालनको क्षेत्रमा ‘लम्पी स्किन’ को सङ्क्रमणले सबैभन्दा ठुलो क्षति पु¥याएको जानकारी दिनुभयो ।