काठमाडौँ, चैत २५ गते । कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी प्रदेशमाथि सानदार जित निकालेको छ । जनकपुरमा बुधबार भएको खेलमा बागमतीले कोशीलाई सात विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको कोशीले २८.२ ओभरमा सबै विकेटको क्षतिमा ९९ रन बनाएको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले सर्वाधिक २१ रन बनाउनुभयो ।
यस्तै अङ्कित सुवेदीले १९, रोशन शाहले १८ तथा सिवान्स बजगाईंले १० रन बनाउनुभयो । बलिङमा बागमतीका सन्दीप एक्लैले पाँच विकेट लिने क्रममा ७.२ ओभरमा ३३ रन खर्चिनुभयो । रिजन ढकालले दुई तथा प्रतिश जिसी र इशान पाण्डेले एक एक विकेट लिनुभयो ।
सय रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले नौ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । बागमतीका लागि विवेक मगरले अविजित ६१ रन बनाउनुभयो । प्रतिश जिसीले अविजित १७ र रिङजिन लामाले १७ रन जोड्नुभयो ।
बलिङमा कोशीका लागि विपिन महतोले दुई विकेट लिनुभयो । जितसँगै बागमतीले सात खेलबाट ६ अङ्क बनाएको छ । पराजित कोशीको समान खेलबाट एक अङ्क छ ।