मकवानपुर समाचारदाता
मकवानपुर, मङ्सिर २२ गते । सडक सीमा चौडा गर्ने कार्य सुरु गरिएसँगै हेटौँडा बजारक्षेत्रमा विद्युत्सहित टेलिफोन र इन्टेरनेट सेवा अवरुद्ध बनेको छ । शनिबार बिहानैबाट अवरुद्ध भएको विद्युत् ३६ घण्टापछि हेटौँडा बजारको राजमार्ग क्षेत्रमा आंशिक रूपमा सुचारु भए पनि टेलिफोन र इन्टरनेट भने बन्द नै छन् ।
घरटहरालगायतका संरचनामा डोजर चलेसँगै हेटौँडा बजारमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा विच्छेद भएको हो । नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक संस्था सेवा सुचारु गर्न खटिएका छन् ।
सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्रबाट दायाँबायाँ २५ गजभित्र बनेका घरटहरालगायतका संरचनामा डोजर लगाएसँगै विद्युत्, टेलिफोन, इन्टेरनेट सेवाका तार र पोल बजारक्षेत्रमा अस्तव्यस्त बनेका हुन् ।
सडक डिभिजनले अव्यवस्थित तरिकाले बिनायोजना घरटहरा भत्काउँदा तार चुँडिएर असरल्ल बनेको हो । नेपाल टेलिकम हेटौँडाका सूचना अधिकारी दीपक खड्काले टेलिफोन र टेलिकमको इन्टरनेट सेवा सुचारु गर्न कम्तीमा चार दिन लाग्ने जानकारी दिनुभयो ।
आइतबार हेटौँडा अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतका क्षेत्रमा मर्मतको कार्य भएको छ । सोमबार अन्य क्षेत्रमा चँुडिएका तारको व्यवस्थापनसँगै मर्मत सम्भार गरेर टेलिफोन र टेलिकमको इन्टरनेट सेवा सुचारु गरिने उहाँले बताउनुभयो ।
डोजर चलाउनुपूर्व नै विद्युत् प्राधिकरणले बजारक्षेत्रमा विद्युत् अवरुद्ध बनाएको थियो । प्राधिकरणले राजमार्ग क्षेत्रका घरधनीलाई सडक केन्द्रबाट २५ गज छाडेर मात्र विद्युत् मिटर जडान गर्ने गरी पुनः निवेदन माग गरेको छ ।
सडक डिभिजनले विद्युत्, टेलिफोन र इन्टेरनेट सेवामा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीबिना घरटहरालगायतका संरचनामा डोजर चलाउँदा वडा नम्बर १, २, ४, ८, ९ र १० मा समस्या आएको हो ।
राजमार्गको दायाँबायाँका ५३१ घरटहरालगायतका संरचना डोजर लगाएर साङ्केतिक रूपमा भत्काइएको छ । रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य सङ्घसम्म र बुद्धचोकदेखि राप्ती पुलतर्फका घरटहरा भत्काइएको छ ।