• १६ कात्तिक २०८२, आइतबार

विघटनको सँघारमा नेकपा एकीकृत समाजवादी

blog

काठमाडौँ, कात्तिक १६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णयले नेकपा एकीकृत समाजवादी नेकपा (एस) विघटनको सँघारमा पुगेको छ । नेकपा (एस)सँगै माओवादी केन्द्रमा पनि एकता प्रक्रिया नै स्थगनको माग गरिएको छ । 

नेकपा (एमाले) बाट चार वर्षअघि विद्रोह गरेर नेकपा (एस) पार्टी स्थापना भएको थियो । शुक्रबार केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताले शनिबार छुट्टै भेला गर्नुभएको छ ।

एमालेसँगको विद्रोहमा निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा २० प्रतिशतभन्दा बढीको हस्ताक्षरसहित आफ्नो आवेदनको पुष्टि गर्दा २ भदौ २०७८ मा नेकपा (एस) ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसपछि निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गरेर सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहभागी भएको थियो । तीन दिनसम्म चलेको नेकपा (एस) केन्द्रीय कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय विवादमा परेको छ । माओवादीले पनि सहजै एकता स्विकारेको छैन । नेकपा (एस) का जिल्लादेखि केन्द्रीय नेता एमालेमा प्रवेश गरिरहेका छन् । 

शुक्रबार नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल पक्षधरले बहुमतका आधारमा केन्द्रीय कमिटीमार्फत माओवादीसँग एकताको निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै शनिबार काठमाडौँ सुकेधारामा भेला आयोजना गरेको हो । सो भेलाको उद्देश्य नै एकता नगर्ने र नेकपा (एस) कै पुनर्संरचना गर्नेमा केन्द्रित थियो । यसले नेकपा (एस) विभाजनको सँघारमा पुगेको स्पष्ट देखिन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा आफू एमालेमा नफर्किने स्पष्ट पार्नुभएको थियो । 

शनिबारको भेलाको नेतृत्वकर्ता नेकपा (एस)का महासचिव घनश्याम भुसालले एक दलसँग भन्दा पनि वैकल्पिक वामपन्थी एकता नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । कुनै दलसँगको एकता नमान्ने र नेकपा (एस) कै निरन्तरताका बारेमा छलफल सुरु गरिएको दाबी उहाँले गर्नुभयो । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा नेकपा (एस) का अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडि बढाएर बलियो कम्युनिस्ट शक्ति बनाउने अभियानमा रहेको दाबी गर्नुहुन्छ । उहाँले केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको र पार्टी सोही अनुसार अघि बढ्ने बताउनुभयो ।    

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।