काठमाडौँ, फागुन १९ गते । नेपालको पहिलो बहुदलीय संसदीय निर्वाचनको नालीबेली समेटिएको पुस्तक सार्वजनिक भएको छ । पत्रकार विराट अनुपमले लेखेको ‘पहिलो आमनिर्वाचन २०१५ः कांग्रेसको दुई तिहाई, कम्युनिस्ट चौँथो, स्वतन्त्रको चिह्न घण्टा’ पुस्तक मंगलबार सार्वजनिक भएको हो ।
रत्न राज्यलक्ष्मी क्याम्पसका पत्रकारिता तथा आमसंचार विभागका प्रमुख डा. जगत नेपाल, लेखक विराट, प्रकाशक भूपेन्द्र खड्कालगायतले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।
नेपालको नवौँ बहुदलीय संसदीय चुनाव (फागुन २१) को मौन अवधिमा पहिलो बहुदलीय संसदीय चुनावको इतिहास समेटिएको पुस्तक सार्वजनिक भएको हो ।
पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ‘पहिलो संसद’ पुस्तकका लेखकसमेत रहनुभएका डा. नेपालले आफूले जानकारी नपाएका धेरै नयाँ कुरा पुस्तकमा समेटिएको बताउनुभयो ।
लेखक अनुपमले नेपालको पहिलो आमनिर्वाचनमा विजय भएका सबै दलका चुनावी घोषणापत्रको पूर्णपाठ, सबै प्रमुख दलका चुनाव चिन्ह, चुनावी पर्चा, पोस्टरका समग्र विषयलाई पुस्तकमा समेट्नुभएको छ ।
पहिलो आमनिर्वाचनमा कांग्रेसको बुथ प्रतिनिधिरहेका तोयानाथ भट्टराई, स्वतन्त्र उम्मेदवार धर्मराज ढकाल, मतदाता सोमनाथ बास्तोला, पहिलो संसदीय निर्वाचनको रिपोर्ट गर्ने पत्रकार रमेशनाथ पाण्डे र पहिलो संसदीय निर्वाचनका जीवित उम्मेदवार मोहनविक्रम सिंहसँग चुनावी कुराकानी गरेर पुस्तक तयार पारेको लेखक अनुपमले जानकारी दिनुभयो ।
पत्रकार अनुपमको यो पहिलो पुस्तक हो । उहाँले यस अगाडि डोरबहादुर विष्टको अंग्रेजी भाषाको पुस्तक ‘रिपोर्ट फ्रम ल्हासा’को नेपाली अनुवाद ‘ल्हासाको खबर’ बजारमा ल्याइसक्नु भएको छ ।

‘नेपालको आमनिर्वाचन २०१५’ पुस्तक बुकहिल प्रकाशनले बजारमा ल्याएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रकाशक भूपेन्द्र खड्काले पुस्तक २०८४ को लागि तयार भए पनि जेनजी आन्दोलनको कारणले चाँडै बजारमा आएको जानकारी गराउनुभयो।