केशब राज भट्ट
वाशुलिङ-बैतडी, फागुन १९ गते । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी बैतडीमा अन्तिम चरणमा पुगेको छ ।
जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक जनशक्ति र सामग्री व्यवस्थापन गरिसकिएकाले निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारी लगभग पूरा भएको जनाइएको छ ।
जिल्लाका एक अस्थायी केन्द्रसहित २ सय १५ मतदान केन्द्रमा मतपत्र तथा निर्वाचन सामग्री सहित कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहायक कर्मचारीहरू आ–आफ्नो केन्द्रमा पुगेर आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीमा जुटिरहेका छन् ।
मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, मुचुल्का उठाउने, सर्वदलीय बैठक आयोजना गर्ने लगायतका प्रारम्भिक प्रक्रिया सम्पन्न भइसकेका छन् । अधिकांश स्थानमा मतदानस्थल निर्माण कार्य सकिएको र बाँकी स्थानमा अन्तिम चरणको काम भइरहेकाले हालसम्म करिब ९५ प्रतिशत तयारी पूरा भइसकेको निर्वाचन अधिकारी भारतीले बताउनुभयो ।
प्रतिनिधिसभाका लागि बैतडीमा एक निर्वाचन क्षेत्र रहेको छ । सो क्षेत्रमा १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभरि २ हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।
सम्बन्धित निकायले निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपिलसमेत गरेका छन् ।