• २४ कात्तिक २०८२, सोमबार

लाभकारी निम

blog

भाइबहिनीहरू, हाम्रो वरिपरि गुलियो, अमिलो, टर्रो, तितो विभिन्न जातका बोटबिरुवा पाइन्छन् । नेपालको भूगोल अनुसार पाइने त्यस्ता बोटबिरुवामा औषधीय गुण भरिपूर्ण हुन्छ । यस्तै बहुगुणी वनस्पति हो– निम । 

निम एकदमै तितो हुन्छ तर मानिसको स्वास्थ्य, माटोमा आउने घातक किरा मार्न निकै सहयोगी हुन्छ । आयुर्वेदका प्रभावशाली औषधीमा निमको प्रयोग हुने गरेको छ । मानिसले हजारौँ वर्षदेखि यसलाई महत्वपूर्ण वनस्पतिका रूपमा प्रयोग गर्दै आइरहेको छ । 

निममा किरालाई नाश गर्न सक्ने तत्व हुन्छ । निमको सबैभन्दा बढी उपयोग छालाका रोग र रक्तविकार ठिक पार्नका लागि गर्ने गरिन्छ । निम तराईतिर जताततै पाइन्छ । पहाडतिर भने अलि कम पाइन्छ । यसको रूखमा थुप्रै हाँगाबिँगा हुन्छन् । यो ४० फिट जति अग्लो हुन्छ । यसका ठुला हाँगामा मसिना सिन्का जस्ता हाँगा पनि हुन्छन् । यिनै हाँगामा दुवैतिर जोडाका रूपमा पात हुन्छन् । यी पात धेरै जसो पाँचदेखि नौ जोडामा पाइन्छन् । पातको किनार दाँती परेको हुन्छ । वसन्त ऋतु (चैत–वैशाख) मा सेतो रङका ससाना फूल झुप्पामा फुल्छन् । यसको फल काँचोमा हरियो र पाकेपछि पहेँलो हुन्छ । यसको फल केही लाम्चो र गोलाकार हुन्छ । फलभित्र कडा बिउ हुन्छ ।

यसले शरीरलाई हानि गर्ने र रोग लगाउने स्वभावका किटाणुलाई नष्ट गर्छ । पेटका जुकालाई यसले निर्मूल पार्छ । अरू तितोले भोक मार्छ तर निमको तितोले भोक जगाउने आयुर्वेदका चिकित्सक डा. मनोजकुमार चौधारीले बताउनुभयो । 

निमका कलिला पात घिउमा भुटेर दुईदेखि तीन चम्चा साग जस्तै खाने हो भने भोक एकदमै बढाउँछ । निमको दतिउन वा यसबाट बनेको मञ्जनले दाँत सफा गर्न सकिन्छ । यसो गर्नाले दाँत र मुखका रोग हुँदैनन् । भाइबहिनीले पनि चिकित्सकको परामर्शमा निमबाट बनेका मञ्जन प्रयोग गर्न सक्नु हुने छ । 

शरीरमा लुतो, दाद जस्ता छालासम्बन्धी समस्या भएमा निमको पात पिसेर शरीरभरि लगाई तातोपानीले नुहाउँदा सन्चो हुन्छ । यसको प्रयोगले छाला, पेट, आँखा, मुखका रोग, रक्तविकार तथा बाथ, पित्त, कफका सबै दोषलाई निर्मूल पार्न मद्दत गर्छ ।

निम मानिसको रोगसँग मात्र सम्बन्धित छैन । पशुपन्छी र वनस्पतिका विभिन्न रोगमा पनि यसको प्रयोग हुन्छ । खेतबारीका अन्नलाई किराबाट बचाउन पनि यसको प्रयोग गरिन्छ । निमको तेल वा पात कुटेर बनाएको चूर्ण पानीमा घोलेर छर्कन सकिन्छ । अन्नलाई किराबाट बचाउन यसको तेल वा चूर्ण प्रयोग गरिन्छ । खोजकर्ता किरण खरेलले खेतबारीमा किरा मार्न प्रयोग गरिने रासायनिक औषधी हानिकारक हुन्छन् तर निमको प्रयोगले हानि नपु¥याइकन किरालाई मार्ने बताउनुभयो । 

  मुना   

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।