• २२ मङ्सिर २०८२, सोमबार

बेलिब्रिजमार्फत जोडिँदै उदयपुर र खोटाङ

blog

वंशिलाघाटमा बेलिब्रिज जडान गर्न आवश्यक सामग्री लगेर तयारी गरिँदै । तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट समाचारदाता 

गाईघाट, मङ्सिर २२ गते  । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । दुई जिल्लाबिच सिधा यातायातमा बाधक बनेको सुनकोशी नदीको वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज राख्न सुरु गरिएपछि उदयपुर र दक्षिणी खोटाङबिच सिधै यातायात सञ्चालनमा आउने भएको हो । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो । ५१.८१ मिटर लामो र ४.१ मिटर चौडाइ भएको बेलिब्रिज पुस महिनाको पहिलो सातासम्ममा जडान सम्पन्न गर्ने गरी काम थालिएको निर्माण कम्पनीले जनाएको छ । 

गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपियाँमा बेलिब्रिज जडान गर्ने गरी कामको जिम्मा लिएको हो । नदीमा पानीको बहाब बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी जडान सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजन इन्जिनियर गङ्गासागर यादवले बताउनुभयो ।  

चौदण्डीगढी नगरपालिकास्थित बेल्टार बसाहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोविन्द थापाले हिउँदको छ महिना मात्रै उदयपुर र खोटाङबिच सिधा यातायात सञ्चालन हुन सके दुवै जिल्लाका स्थानीय बासिन्दा तथा व्यापारी व्यवसायीलगायतलाई ठुलो राहत हुने बताउनुभयो । अध्यक्ष दाहालले वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज लगाएर उदयपुर र खोटाङलाई जोड्ने काम सुरु हुनुले स्थानीय व्यापारीमा खुसी छाएको बताउनुभयो । अहिले बेलिब्रिज जडान गर्न लागिएको ठाउँ सुनकोशी नदीको वंशिलाघाटमा मोटरेवल पक्की पुल निर्माणका लागि  १९ करोड १८ लाख ४१ हजार चार सय रुपियाँको लागतमा ३३ महिनामा पुल निर्माण सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिर–१ मा कालिका–वेदांसी जेभीले सम्झौता गरेको थियो । 

पुल निर्माणमा चरम ढिलासुस्ती भएपछि स्थानीय जनताको माग अनुसार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राख्न सुरु गरेको कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले बताउनुभयो ।