जयकृष्ण यादव
इनरुवा, मङ्सिर २२ गते । सुनसरीको रामधुनी नगरपालिकामा भएको हत्या घटनाका आरोपितलाई प्रहरीले करिब दुई महिनापछि सात जनालाई पक्राउ गरेको छ । सिटी सफारी चालक रामधुनी नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय दिनेशकुमार चौधरीलाई गत असोज २५ गते गोली प्रहार गरी हत्या गरिएको थियो ।
अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले थालेको अनुसन्धानको दुई महिनापछि सिटी रिक्सा चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो ।
हत्या आरोपमा जिल्लाको रामधुनी नगरपालिका–१ झुम्काका ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज नगरपालिका– १६ का २८ वर्षीय अंकित साह, राजविराज–९ आँखा अस्पताल छेउ बस्ने २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ निवासी ३४ वर्षीय मोहमद इब्रान मियाँ, देवानगन्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाउँपालिका–५ का २५ वर्षीय मिथलेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।
गत असोज २५ गते शनिबार राति जिल्लाको रामधुनी नगरपालिका–२ मा रहेको शिवनगर–झुम्का जाने नहरको कर्मनिया टोलस्थित भित्री सडक खण्डमा योजनाबद्ध रुपमा १–०२–००४ ह ७८०४ नम्बरको सिटी चालक चौधरीमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गरी हत्या गरेको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली गठन भई घटनास्थलको प्राविधिक पक्ष र स्थानीय मानिस तथा परिवारका सदस्यको भनाइ समेतलाई आधार बनाई विश्लेषण गरी अनुसन्धान गर्ने क्रममा आरोपितहरुलाई पक्राउ गर्न सफल भएको उहाँको भनाइ छ ।
मृतक चौधरीलले तन्त्रमन्त्र गरी लामो समयदेखि परिवारका सदस्यहरुलाई बिरामी बनाइ दुख दिएका कारण राजकिशोर र नन्द किशोर समेतले योजना बनाई मोहमद इब्रान मियालगायतसँग रकम लेनदेन गरी सो समूहले गोली प्रहार गरी चौधरीको हत्या गरेको अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानमा क्रममा सो हत्या आफूहरुले गरेको स्वीकार गरेको हुँदा घटनामा सलग्न सातजनालाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा दिन १२ को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको प्रहरी जनाएको छ ।