काभ्रेपलाञ्चोक, कात्तिक १५ गते । निरन्तर वर्षाले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रोसीखोलाले बाढीपहिरोबाट क्षतिग्रस्त सडकमा बनाएको अस्थायी ‘ट्र्याक’ लाई कटान गर्न थालेको छ भने सडकमाथिबाट लेदोसहितको पहिरो आउने क्रम रोकिएको छैन । सडकको विभिन्न स्थानमा माथिबाट निरन्तर ढुङ्गा खस्दा प्रशासनले बिपी राजमार्ग बन्द गरेको छ । काठमाडौँबाट पूर्वी नेपाल जोड्ने छोटो बाटोका रूपमा रहेको बिपी राजमार्गमा दैनिक तीन हजार सवारीसाधन गुड्ने अनुमान प्रहरीको छ । राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित बन्न पुगेका छन् ।
वर्षा हुने पूर्वानुमानसँगै स्थानीय प्रशासनले रातको समयमा सार्वजनिक यातायात चलाउन यसअघि नै रोक लगाएको थियो । शुक्रबार राजमार्गको अवरोध हटाएर सडक सञ्चालनको प्रयास सफल हुन नसक्दा काठमाडौँबाट गएका सवारीसाधन धुलिखेल र काभ्रेभन्ज्याङतिरै रोकिएका छन् । पूर्वतिरबाट आएका सवारीसाधन नेपालथोकमै रोकिएका छन् । प्रहरीले बिपी राजमार्गको वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बिहीबार रातिदेखि नै बिपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका थिए । तत्काल सडक खुल्ने सम्भावना छैन, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले उल्लेख गर्नुभयो । उहाँले स्थानीय प्रशासन, स्थानीय सरकारसँगको सहकार्यमा सडक खुलाउने प्रयास भने गरिरहेको बताउनुभयो । सडक सफा गर्ने उपकरण तैनाथ रहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन समस्या भइरहेको उहाँले स्पष्ट पार्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनील धाँजूले पनि तत्काल सडक खुलाउन सक्ने अवस्था नदेखिएको बताउनुभयो ।
बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–६, चौकीडाँडा, रोसी गाउँपालिका–७, चारसयबेँसी, सोही गाउँपालिकाको वडा–११ डालाबेँसी, वडा नं. ९ बिरुवाडाँडा, कोक्सिकुना बिरुवाडाँडा र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुङ्गा खस्दा बाटो दुवैतर्फ अवरुद्ध भएको सशस्त्र प्रहरी बल १५ नम्बर गण मनसुनजन्य अस्थायी बेसका प्रमुख प्रहरी निरीक्षक आलोक बस्नेतले जानकारी दिनुभयो । पहिरो सफा गर्ने प्रयास गरिए पनि ढुङ्गा र लेदो खसिरहेकाले तत्काल सडक खोल्न सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
“तत्काल राजमार्ग खुल्ने सम्भावना छैन । अवरोध पन्छाउनका लागि एक्साभेटर चलाउन सकिएको छैन,” बिपी राजमार्गमा कार्यरत सडक कार्यालयका चन्द्र लामाले उल्लेख गर्नुभयो । उहाँले प्रयास भने जारी राखिएको बताउनुभयो । बिपी राजमार्गको विकल्पमा सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली, दोलखाको चरीकोट, सिन्धुपाल्चोकको खाडीचौर हुँदै काभ्रे निस्कन सकिन्छ । यी सडकका कुनै ठाउँमा पनि अवरोध नभएको सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
साँगा छिचोल्नै मुस्किल
दैनिक तीन हजार सवारीसाधनमा १५ हजारभन्दा धेरै यात्रुले यात्रा गर्ने अरनिको राजमार्ग अन्तर्गतको साँगामा सामान्य वर्षामा नै लेदोले समस्या पारेको प्रहरीले जनाएको छ । साँगा क्षेत्रमा सडकमा अत्यधिक लेदो जम्दा बिहीबारदेखि नै सवारीसाधन आवतजावतमा समस्या देखिएको प्रहरीले उल्लेख गरेको छ । लेदोको समस्याले साना सवारीसाधनलाई गुड्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।
पुनर्निर्माणमा जापानको थप सहयोग
जापान सरकारले बाढीबाट क्षतविक्षत बनेको बिपी राजमार्गको सिन्धुली सडकको आपत्कालीन पुनर्निर्माणका लागि २.६ अर्ब जापानी ऐन अर्थात् २.८ अर्ब नेपाली रुपियाँ बराबरको अनुदान सहायता दिने निर्णय गरेको छ ।
उक्त अनुदान सहायता सम्झौतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल तथा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बिहीबार हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका लागि जापानका राजदूत माइदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको थियो । यसको निर्माण सन् १९९५ देखि २०१५ सम्म जापानी अनुदान सहायता २५.८ अर्ब जापानी येन बराबरको लगानीबाट भएको नेपालस्थित जापानीले जनाएको छ । गत वर्ष सन् २०२४ मा निरन्तरको भीषण वर्षाका कारण आएको बाढीले १० किलोमिटरभन्दा बढी सडक बगाएको थियो । जापानी दूतावासले यो परियोजना नेपालका लागि दिगो आर्थिक विकास हासिल गर्न र जापान र नेपालबिचको सौहार्दपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
सबैभन्दा ठुलो अनुदान
राजधानी काठमाडौँलाई सिन्धुली हुँदै मध्य तराईको बर्दीबास जोड्ने राजमार्गका निम्ति जापान सरकारले २६ अर्ब ८ करोड रुपियाँ सहयोग प्रदान गरेको थियो । यो जापानले विश्वभरमै पूर्वाधारका लागि प्रदान गरेको सबैभन्दा ठुलो अनुदान सहयोग थियो ।अनुदान सहायतामार्फत सडक पुनर्निर्माण र पुनस्र्थापनालार्ई प्रवर्धन गर्न सहयोग गर्ने विश्वास जापान सरकारले गरेको छ । यो सडक जापान र नेपालबिचको मित्रताको प्रतीकका रूपमा महत्वपूर्ण मार्गदर्शक रहिआएको दूतावासले जनाएको छ ।