• ७ जेठ २०८१, सोमबार

मुक्तिनाथ–यार्तुङ मेलाको तयारी

blog

फाइल तस्बिर

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन १० गते ।  मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथमा लाग्ने यार्तुङ मेलाको तयारी सुरु गरिएको छ । पछिल्लो दुई वर्ष कोरोनाका कारण रोकिएको यार्तुङ मेला यस वर्ष यही साउन २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । हरेक वर्षको जनैपूर्णिमाको दिन स्थानीय संस्कृतिसँग जोडिएको यार्तुङसम्बन्धी  विशेष कार्यक्रम हुने गर्दछ । धार्मिक तथा सांस्कृतिकका साथै विविध खेलकुद तथा अन्य विविध कार्यक्रमको आयोजना हुने गरेका छन् । 

यस वर्ष पुराङ जनप्रिय युथ क्लबले यार्तुङ मनाउन लागेको हो । बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका–१ का वडा सदस्य पेम्बा छिरिङ गुरुङका अनुसार २३ गतेदेखि खेलकुद, सांस्कृतिक कार्यक्रम सुरु हुनेछ । २७ गते जनैपूर्णिमाको दिनमा विशेष समारोहका साथ समापन हुनेछ । उक्त अवसरमा फुटबल, आर्चरी (तारो हान्ने), लाठो तान्ने, घोडा दौड प्रतियोगिता आयोजना गरिएको छ । सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रियस्तरकै चर्चित कलाकार तथा डिजे साँझको समेत व्यवस्था गरिएको क्लबले जनाएको छ ।

सबै प्रतियोगिता खुला रूपमा सञ्चालन हुने छन् । पछिल्ला दुई वर्ष नेपाल सरकारले २५ जनाभन्दा बढी मान्छे जम्मा हुने गरी कुनै पनि कार्यक्रम गर्नका लागि रोक लगाएका कारण केही वर्षसम्म यार्तुङ गर्न नसकेको गुरुङले बताउनुभयो ।

यार्तुङ मेला कहिलेदेखि सुरु भयो भन्ने यकिन नभए पनि परापूर्वकालदेखि नै मनाउँदै आएको स्थानीयको भनाइ छ । मुक्तिनाथ क्षेत्रका झारकोट, पुराङ, खिङ्गा, झोङ, छोङ्गोर, पुटागाउँका गाउँलेले मनाउँदै आएको यार्तुङमध्ये पुराङ गाउँले रानीपौवामा आयोजना गर्ने यार्तुङलाई त्यस क्षेत्रको विशेष पर्वका रूपमा लिइने गरिन्छ । मुस्ताङको बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका–१, रानीपौवामा हुने यार्तुङ मेला भर्नका लागि देश–विदेशबाट पर्यटक तथा आफन्तहरू आउने जनप्रिय युथ कलबका अध्यक्ष उर्गेन गुरुङले जानकारी दिनुभयो । 

बर्खायामको खेतीपाती सकेर यार्तुङअघि गाउँका सबै स्थानीयले अन्नबाली थन्क्याइसकेका हुन्छन् । यार्तुङ सकिएलगत्तै बर्खा सकिएर हिउँदयामको झल्को दिन्छ । १६औँ शताब्दीबाट भएको भन्ने आफूहरूले सुनेको भए पनि यार्तुङ मेला निकै पुरानोमध्येको संस्कार रहेको गुरुङको भनाइ छ । 

हिमालपारिको जिल्ला मुस्ताङका बासिन्दा वर्षा सकिएपछि हिउँदको चिसो छल्नका लागि बेँसी झर्ने परम्परा रहेको छ । यही परम्परासँगै यार्तुङ पनि जोडिएको स्थानीयको भनाइ छ । जाडो छल्नका लागि बेँसी झर्नु पहिला तीन दिनसम्म रमाइलो गर्ने समय पनि हो यार्तुङ । यार अनि तुङ शब्दको सम्मिश्रण हो यार्तुङ । मुस्ताङको त्यस क्षेत्रमा यार भनेको बर्खा र तुङको अर्थ बर्खाको बिदाइ भन्ने बुझिन्छ । वर्षाको बिदामा मनाइने एक किसिमको सांस्कृतिक मेला यार्तुङ हो ।