• २ जेठ २०८१, बुधबार

पहिलो रोजाइमा सामुदायिक विद्यालय

blog

गोपी ज्ञवाली   

नवलपरासी, साउन १० गते ।  केही समयअघिसम्म सुनवल बजारमा बच्चालाई अङ्ग्रेजी भाषाको शिक्षा दिन महँगो शुल्क तिरेर बोर्डिङ स्कुलमा भर्ना गर्नुपर्ने बाध्यता भएकोमा अब त्यो अवस्था फेरिएको छ। 

सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयले पनि न्यून शुल्कमा सुविधा सम्पन्न कक्षाकोठामा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेका छन्।  अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा सामुदायिक विद्यालय नै पर्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षदेखि एसीसहितको सुविधा सम्पन्न भवन र गुणस्तरीय शिक्षाको व्यवस्था गरेको छ। 

प्राथमिकस्तरका सामुदायिक विद्यालयहरू बालबालिकाको सुविधाका लागि एसीसहितको सुविधासम्पन्न भवन तथा सेवा विस्तार गरिएको सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेले बताउनुभयो।  बालबालिकाका लागि प्राथमिकस्तरको शिक्षा अत्यन्तै महìवपूर्ण भएकाले कक्षा ५ भन्दामुनिका लागि सो सुविधा विस्तार गरिएको हो। भौतिक पूर्वाधार मात्र होइन कि शिक्षाको गुणस्तरमा समेत आमूल परिवर्तन गर्न विषेश कार्यक्रम बनाई शिक्षामा सुधार सुरु गरिएको उहाँले बताउनुभयो। 

यसका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र स्थानीय सरकारको लगानीमा पहिलो चरणमा सुनवलका जगन्नाथ माध्यमिक विद्यालय भुमही, बागवाणी माध्यमिक विद्यालय जर्गाहा, जनसेवा मावि विशासय, रमुवापुर मावि सुनवल, प्रगति मावि स्वाठी एवं वनदेवी प्राथमिक विद्यालय घिउडल्ला छन्। 

यी छवटा विद्यालयमा प्राथमिक शिक्षा सुधार योजनाअनुसार वातावरण अनुकूलित (एसी) जडान गरिएको छ। बालबालिकालाई दबाब दिएर पढाउनुभन्दा खेल्दै पढ्दै गरुन भन्ने अवधारणाका राखिएको छ।  ती विद्यालयमा प्राथमिक तहको छुट्टै ब्लक बनाइएको छ। सो ब्लकमा बालबालिकालाई खेल्न आवश्यक पर्ने सामान, खानेपानी, दिउँसोको खाजा, शौचालयलगायत सुविधा सम्पन्न रहेको जगन्नाथ माध्यमिक विद्यालय भुमहीका प्रधानाचार्य कर्ण राडी मगरले बताउनुभयो। 

प्राथमिक विद्यालय सुधार कार्यक्रम लागू भएसँगै प्राथमिक विद्यालयस्तरमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भइरहेको छ। कक्षा १ भन्दामुनिका कक्षाहरूमा तीनवटासम्म ‘सेक्सन’ छुट्याउनु परेको प्रधानाचार्य मगरले बताउनुभयो।  

सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारका लागि सुनवल पालिकाले यातायातका लागि बस, विद्युतीय रिक्सा, भौतिक सुधारका लागि विद्यालय भवन निर्माणमा सहयोग, मन्टेश्वरी शिक्षा, खेल मैदान र मनोरञ्जनमा सुधार, अङ्ग्रेजी माध्यममा पठनपाठन, कम्प्युटर शिक्षा, शिक्षकहरूलाई उत्प्रेरणा तालिम, पुराना शिक्षकहरूलाई कम्पयुटर शिक्षाको तालिमलगायतका कार्यक्रम सञ्चालन गरिँदै आएको छ।