• १५ असार २०८१, शनिबार

सात करोड लगानीको धर्मशाला बन्ने

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), साउन १० गते । धार्मिक तथा पर्यटकीय क्षेत्रले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा ठूलो लगानीमा धर्मशाला निर्माण हुनेभएको छ । जैविक विविधताको महत्व रहेको घोडाघोडी धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा त्यहाँ घुम्न र दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । 

त्यहाँ घुम्न र दर्शन गर्न आउनेलाई सर्वसुलभ रुपमा बास बस्न स्थानीयको पहलमा धर्मशाला निर्माण हुनेभएको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग घोडाघोडी मन्दिरदेखि पाँच सय मिटर पूर्व राधाकृष्ण मन्दिर भएको क्षेत्रमा धर्मशाला बन्ने बताइएको छ । चालु आर्थिक बर्षदेखि निर्माणको काम शुरु हुनेछ ।

धर्मशाला निर्माणका लागि राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले एक बर्षदेखि पहल गर्दैआएको थियो । मन्दिर व्यवस्थापन समितिका सचिव एवम् धर्मशाला निर्माण समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले आर्थिक बर्ष २०७८–७९ मा प्रदेश सरकारबाट २० लाख रुपियाँ अनुदान सहयोगबाट पाँच कोठा सटर निर्माण भएको बताउनुभयो । 

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई घोडाघोडीमा धर्मशालाको अति आवश्यक रहेको जनाउँदै सहयोगका लागि पटक पटक आग्रह गरेको सुनाउनुभयो । गतबर्ष मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सदस्यबाट रकम उठाई तीन लाखमा धर्मशालाको डीपीआर समेत तयार भएको थियो । सचिव भट्टराईले चालु आर्थिक बर्षदेखि काम हुनेगरी नेपालसरकार राष्ट्रिय योजना आयोगबाट ६ करोड ६३ लाख अनुदान सहयोग धर्मशाला निर्माण योजनामा परेको बताउनुभयो ।  

सुविधासम्पन्न धर्मशाला निर्माण पछि घोडाघोडीमा आउने  दर्शनार्थी तथा पर्यटकहरुको बसाईमा सहज हुने विश्वास लिइएको छ । राष्ट्रिय योजना आयोगका रामकुमार फुयाँलले विशेष अनुदान अन्तर्गत घोडाघोडी ताल क्षेत्रमा धर्मशाला निर्माणको योजना छनौट भएको जानकारी दिनुभयो । 

योजना निर्माण सम्पन्न भएपछि घोडाघोडीमा आउने भक्तालु, धर्मावलम्बी, पाहुनाहरुले धर्मशालाबाट सर्वसुलभ बासको सुविधा पाउनुका साथै रोजगारीको सिर्जना हुने विश्वास लिइएको छ ।