• ३ असार २०८१, सोमबार

उदयपुरमा फर्कियो कोसी

blog

प्रदेश १ ब्युरो

बेलका (उदयपुर), साउन १९ गते ।  उदयपुरको बेलका नगरपालिका–८, डुम्रीबोटेबाट सप्तकोसीको भँगालो मानव बस्तीमा पस्दा एक हजार पाँच सय घरपरिवार डुबानमा परेका छन्। करिब १० हजार घर डुबानको उच्च जोखिममा छन्। सप्तरीमा पनि यसको असर पर्ने भएको छ तर हालसम्म मानवीय क्षति भने भएको छैन।

बुधबार बिहान करिब ४ बजे नदीको भँगालो बस्तीमा पस्दा बेलका नगरपालिका वडा नं. १, २, ३, ८ र ९ का बासिन्दा विस्थापित भएका छन्। उनीहरूलाई स्थानीय तहको समन्वयमा रहेको टोलीले उद्धार गरिरहेको छ। क्षतिको यकिन तथ्याङ्क आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो। उहाँका अनुसार दिनभरमा करिब नौ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने अन्यको उद्धार कार्य चलिरहेको छ। उद्धारमा स्थानीयस्तरमा बनेका डुङ्गा, ट्याक्टर, सुरक्षा निकायका सवारीसाधन प्रयोग भएका छन्। 

नदीले कटान तीव्र पारेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधि तथा सर्वसाधारणसमेतले विस्थापितको व्यवस्थापनका साथै उद्धार गरिरहेका छन्। नेपाली सेनाको नम्बर २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी प्रकाश देउजाका अनुसार उदयपुर, इटहरी, कोसीटप्पुलगायतका क्षेत्रबाट सेनाको टोली मोटरबोटसहित परिचालन भएको छ। थप मद्दतका लागि अन्य टोली र हेलिकोप्टर तैनाथी अवस्थामा राखिएको छ। 

बेलका नगरप्रमुख अशोक कार्कीका अनुसार उद्धार गरिएकामध्ये अधिकांश आफन्त तथा नाताको शरणमा गएका छन् भने केहीलाई विद्यालय र सामुदायिक भवनमा बस्ने व्यवस्था मिलाइएको छ। पीडित रामबहादुर राईले डुबान भएपछि लगाएको लुगाबाहेक सबै छाडेर भागेको बताउनुभयो। गाउँमा सबै रोइकराइ गर्दै उच्च ठाउँको खोजीमा भागेर ज्यान जोगाएको उहाँले बताउनुभयो। भँगालोको पानी जम्दै जाँदा डुबान क्षेत्र पनि बढ्दै गएको छ। यसले थप क्षति र जोखिम बढाइरहेको छ। सप्तरी र सुनसरीका केही भूभागसमेत डुबानको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन्। 

यसैबीच कटान क्षेत्र तथा डुबान क्षेत्रमा प्रदेश १ का आन्तरिक ममिला तथा कानुनमन्त्री केदार कार्की र भौतिक तथा पूर्वाधारमन्त्री हिमाल कार्कीको टोलीले निरीक्षण गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले बाढीपीडित कोही पनि भोकै बस्नुपर्ने अवस्था आउन नदिने बताउनुभएको छ । सप्तकोसी नदीको बहाव मानव बस्तीमा प्रवेश गरेको घटनामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको छ। बेलका नगरपालिकाका प्रमुख कार्कीका अनुसार डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले सिसौलीघाट, धौरीटापु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका बासिन्दा प्रभावित भएका छन्। 

कोसीको बाढी पस्दा बेलका धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरीलगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कञ्चनरूप र सुनसरीको वराहक्षेत्र नगरपालिकाको ६ र ९ को श्रीलङ्का टापुमा समेत क्षति पुग्ने खतरा छ। सप्तकोसीले ४०÷५० बिघा जमिन कटान गरेपछि बाढी बस्तीतिर पसेको बेलका नगरपालिका–८ का अध्यक्ष जयकुमार राईले बताउनुभयो। सप्तकोसीले दैनिक रूपमा तीनदेखि पाँच मिटरसम्म कटान गरिरहेको थियो। यो क्रम गत वर्षदेखि नै चल्दै थियो।

गत वर्ष छ सय मिटर कटान गरेको थियो भने यस वर्षको बाढीले थप तीन सय मिटर कटान गरिसकेको छ। थप दुई सय मिटर कटान गरे सप्तकोसीले नयाँ मार्ग बनाउने र यहाँ बसोबास गर्ने चार हजार परिवार विस्थापित हुनुपर्ने अवस्था रहेको वराहक्षेत्र नगरपालिका–६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बूको भनाइ छ।

पूर्वतर्फ अर्कै भँगालो

वराहक्षेत्र नगरपालिका–६, चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय, बेलका नगरपालिका–३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित दुईवटा स्वास्थ्य संस्था विस्थापित भइसकेको लिम्बूले बताउनुभयो। त्यहाँ रहेको एकता, सिर्जना, एबीसी, गिनेरी, रामनगर, बुधबारे, चिलिया टप्पु विस्थापित हुने तयारीमा रहेको उहाँको भनाइ छ। सप्तकोसीका चारवटा भँगाला छन्। पूर्वपट्टिको भँगालोले राजाबास चक्रघट्टीतर्फ कटानलाई तीव्र बनाएको छ भने पश्चिमपट्टिको भँगालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति गर्दै छ। सबैभन्दा खतरा पश्चिम भँगालो हो। यसले उदयपुर र सप्तरीका अधिकांश भागमा क्षति गर्ने देखिन्छ। कोसी सम्झौताअनुसार भारत सरकारले नदीका दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता 

बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँछन्। नदी गाउँतिर सोझिएकाले ढुक्कले निदाउने अवस्था नभएको उहाँहरूको गुनासो छ।

वर्षौंदेखिको समस्या

सप्तकोसी नदीको धार परिवर्तन र कटानको समस्या यो पहिलो होइन। यो निकै वर्षदेखि रहेको सप्तकोसी बाढी, कटान तथा डुबान सङ्घर्ष समितिका सचिव बाबुराम कार्की बताउनुहुन्छ। उहाँका अनुसार नदीमा पानीको बहाव तीव्र हुँदा कोसी ब्यारेजमा पानीको निकासका लागि भारत सरकारद्वारा नियन्त्रित ढोका नखोलिँदाको असर उदयपुर र सुनसरीका नदी आसपासका बस्तीमा पर्छ। सप्तकोसीको बीच भँगालोमा रहेको श्रीलङ्का टापुमा लामो समयदेखि बस्दै आएका बासिन्दाले यस किसिमको जटिलता २०४५ सालदेखि भोग्दै आएका छन्। 

यसअघिका कोसीको बाढी 

वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर निवासी अधिकारकर्मी रबिन घिमिरेका अनुसार कोसी ब्यारेज बनेपछि २०२२, २०२४, २०३८, २०४२ र २०४५ सालमा कटान तथा डुबान भएको थियो। पछिल्लो पटक २०६५ भदौ २ गते कोसीको पूर्वी तटबन्ध फुटेर बस्तीमा पसेको थियो। त्यसपछि २०७९ साउन १७ गते सबैभन्दा ठूलो बाढी कोसीको पश्चिमतर्फको तटबन्ध फुटेर उदयपुर, सप्तरी र सुनसरीका केही बस्तीमा पसेको हो। 

२०६५ मा सुनसरीको तत्कालीन पश्चिम कुशाहा–४ मा पूर्वी तटबन्ध भत्काएर गाउँ पस्दा सात हजार ५७२ घरका ४२ हजार आठ सय विस्थापित भएका थिए। सुनसरीको हालको कोसी गाउँपालिका–३, ४, ५, ६ र ७ का खेतीयोग्य पाँच हजार पाँच सय हेक्टर जमिन बालुवामा परिणत भएको थियो। १२ किलोमिटर कालोपत्रे र १३ किलोमिटर कच्ची सडक बगाउँदा लामो समयसम्म यातायात अवरुद्ध भएको थियो। 

(प्रदेश १ संयोजक सचिन पोख्रेल, उदयपुर समाचारदाता भोटराज राई, इनरुवा समाचारदाता जयकृष्ण यादव र बोदेबर्साइन समाचारदाता ललिता शाहको सहयोगमा)