• २८ असार २०८२, शनिबार

आयुर्वेद उपचारमा आकर्षण : ११ महिनामा ४४ हजारले लिए सेवा

blog

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको उपचारको विषयमा जानकारी दिँदै डा. कोपिला अधिकारी । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 
चितवन, असार २८ गते ।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनले ११ महिनामा ४४ हजार ९७२ जनालाई बहिरंग (ओपिडी) सेवा प्रदान गरेको छ । चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारीले आयुर्वेद उपचार पद्धतीमा बिरामीको विश्वास बढ्दै गएपछि उपचार गराउन आउनेको सङ्ख्या बढेको जानकारी दिनुभयो ।

पत्रकार अन्तरक्रिया कार्यक्रममा उहाँले परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य सेवाको संयोजनमार्फत चितवनमा स्वास्थ्य क्रान्तिको थालनी गरेको बताउनुभयो ।

उहाले ओपिडी सेवामा २४ हजार २२२ महिला र २० हजार ७५० पुरुषले सेवा लिएको बताउनुभयो । यो अवधिमा चिकित्सालयले ४१ हजार ४३९ जनालाई पूर्वकर्म÷पञ्चकर्म उपचार गरेको छ । ८८१ जनालाई स्तनपायी आमा सेवा, ६ हजार ८०७ ज्येष्ठ नागरिकलाई विशेष सेवा, एक हजार १३० जनालाई योग, ६ हजार १६ जनालाई प्याथोलोजी (ल्याब), चार हजार २७० जनालाई नागरिक आरोग्य, एक हजार सात जनालाई अकुपञ्चर र ८३२ जनालाई फिजियोथेरापी सेवा प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

५३ जनाले अल्ट्रासाउण्ड र ३२ जनाले अन्तरङ्त (बिरामी भर्ना) सेवा लिएका छन् । यो वर्ष चिकित्सालयले क्षरसूत्र विधिबाट नौ जनाको शल्यक्रिया सम्पन्न गरेको छ । “अन्तरङ्ग सेवाको सुरुआतमा जनशक्ति अभावले केही चुनौती भए पनि हामीले सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेका छौ,” डा. अधिकारीले भन्नुभयो ।

आर्थिक वर्ष २०८१/०८२ मा चिकित्सालयले सङ्घीय सशर्त अनुदानबाट चालुतर्फ ९७ प्रतिशत र पूँजीगततर्फ ७८ प्रतिशत प्रगति गरेको छ । प्रदेश अनुदानबाट चालुतर्फ ७८ प्रतिशत र पूँजीगततर्फ ९९ प्रतिशत प्रगति भएको छ । यो अवधिमा चिकित्सालयले नयाँ भवन उद्घाटन, अन्तरङ्ग सेवा, क्षरसूत्र, सद्योवमन, सद्योविरेचन, आस्थापन वस्ती, जलौका, मर्म र अग्निकर्म चिकित्सा जस्ता सेवा सुरु गरेको बताउनुभयो ।

चिकित्सालयले कार्यालय बाहिर पनि विभिन्न नवीन कार्यक्रम सञ्चालन गरेको छ । “भान्साघर औषधालय कार्यक्रममार्फत हामीले घरेलु औषधीको प्रयोगबारे जनचेतना फैलाएका छौ,” डा. अधिकारीले भन्नुभयो ।  पूर्ण स्तनपान प्रवर्धन, होमस्टे र पर्यटन व्यवसायीका लागि आयुर्वेद र योग अभिमुखीकरण, आरोग्य अभियान, स्वस्थ जीवन प्रवर्धन, स्वर्णविन्दु प्रशासन र स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम जस्ता कार्यक्रमले स्थानीय समुदायमा आयुर्वेदको महत्व स्थापित गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीले आयुर्वेदको सही प्रयोगले दीर्घरोग नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । “हाम्रो भान्सामा औषधिय गुण भएका वस्तु छन्, तीनको सही उपयोग गर्न हामीले पनि सिक्नुपर्छ,” उहाँले भन्नुभयो । आयुर्वेद सेवालाई टोल–टोलमा पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।