• २८ असार २०८२, शनिबार

जुम्लामा ‘फायर हाइड्रेन्ट’ मेसिन जडान

blog

हाइड्रेन्ट जडानको अनुगमन गरिँदै ।

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), असार २८ गते । जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रमा आगलागीजन्य विपत्बाट जोगिनका लागि ‘फायर हाइड्रेन्ट’ मेसिन जडान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जुम्लाको सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्धन परियोजना अन्तर्गत बजारका छ वटा जोखिमयुक्त स्थानमा यी हाइड्रेन्ट जडान गरिएको हो ।

यसले आगलागीको समयमा तत्काल पानीको पहुँच सुनिश्चित गर्ने र आगो नियन्त्रण गरी क्षति न्यून पार्न सहयोग गर्ने बताइएको छ । नगरपालिकाका साँघुरा सडक र दमकल सहजै नपुग्ने ठाउँलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको हो । बजार क्षेत्रको कालेखोली चोक, जिपी स्टेसनरीलगायत जोखिमयुक्त छ स्थान जहाँ दमकल पुग्ने स्थिति छैन । ती स्थानमा हाइड्रेन्ट जडान गरिएको छ । चन्दननाथ नगरपालिकामा आगलागीको जोखिम बढ्दो क्रममा रहेकोले उक्त जोखिमलाई ध्यानमा  राख्दै आगो लागेको खण्डमा तत्काल निभाउन सहयोग पुग्ने गरी मेसिन जडान भएको छ । यसले आगो नियन्त्रण र क्षति कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । कुल १३ लाख ३७ हजार ४६८ रुपियाँको लगानीमा अग्नि नियन्त्रक मेसिन जडान गरिएको छ । जसमा नेपाल रेडक्रस सोसाइटी सुपर परियोजनाको तीन लाख ९५ हजार १६१ रुपियाँ र वडा नं. ५ कार्यालयबाट नौ लाख ४२ हजार ३०७ रुपियाँ लागत साझेदारी रहेको रेडक्रस सोसाइटी जुम्लाका परियोजना अधिकृत ईश्वरा सुवेदीले जानकारी दिनुभयो ।