खलङ्गा समाचारदाता
दार्चुला, असार २८ गते । दार्चुलामा बेरोजगार, गरिब र विपन्न मजदुरले महाकाली नदीबाट जोखिम मोलेर बालुवा निकाल्न बाध्य छन् । दैनिक हात मुख जोर्न बालुवाकै भर पर्नुपर्ने उनीहरूको बाध्यता छ । बर्खाको महाकाली उर्लंदो भेल होस् वा हिउँदको कठ्याङ्ग्रिँदो चिसो जोखिम मोलेर झिकेको बालुवाबापत प्रतिट्याक्टर नौ सय रुपियाँ नगरपालिकालाई कर तिर्नुपर्ने उनीहरूको अर्को बाध्यता छ ।
ज्यानकै बाजी थापेर निकालेको बालुवा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने, माग कम हुनेलगायतका समस्या रहेको महाकाली नगरपालिका–४ का बालुवा सङ्कलक एकल महिला तारा लुहारको गुनासो छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदी यहाँका बेरोजगार, एकल महिला र विपन्न परिवारका लागि वर्षभरिको जीविकोपार्जनको स्रोत बनेको महाकाली नगरपालिका रोजगार संयोजक सन्तोषसिंह बोहोराले बताउनुभयो । स्थानीय तहले सीमित स्रोतसाधनका बिच बेरोजगार र अति विपन्न परिवारका सदस्यलाई एक सय दिनको रोजगारी उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ ।
बर्खामा महाकालीको उर्लंदो भेलको डर र त्रासका बिच नदी किनारबाट दिनहुँ ५०/६० बोरा बालुवा निकाल्ने गरेको दुहुँ गाउँपालिका–३, बाटमुणीका जसु लुहारले बताउनुभयो । “आम्दानीको अर्को स्रोत अरू केही छैन्, शरीरमा तागत छउन्जेल मजदुरी गर्ने हो,” उहाँले भन्नुभयो ।
“बिहानबेलुकी हातमुख जोर्न बालुवाकै भर छ,” उहाँले भन्नुभयो । उहाँले दिनमा एक ट्याक्टर बालुवा सङ्कलन गर्दै आउनुभएको छ । लामो समय चिसो पानीमा काम गर्दा ज्वरो, निमोनिया जस्ता रोगहरूको सङ्क्रमण हुने जोखिम रहेको उहाँले बताउनुभयो । महाकाली नगरपालिका–४ को बङ्गाबगड, शिवनगर क्षेत्र र वडा नम्बर ५ को बसपार्क क्षेत्रबाट दैनिक रूपमा ५० जना मजदुरले बालुवा निकाल्ने काम गर्दै आइरहनुभएको छ । हिउँदमा कम र बर्खामा धेरै बालुवा निकाल्न सकिने उहाँहरूले बताउनुभयो ।