राममणि दाहाल
मकवानपुर, असार २८ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ८ पुलचोक बेलुवा सडक खण्डमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
पुलचोक बेलुवा स्थित पूर्व पश्चिम सडक खण्डमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ३७ प ७६९० न.को मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश३–०३–००१प४४३४ नं.मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा ना ३७ प ७६९० नम्बरको मोटरसाइकलका चालक मकवानपुर राक्सिराङ गाउँपालिका ३ केराबारी बस्ने वर्ष १८ को दीपक दोङ, मोटरसाइकल पछाडि सवार वडा–१ ढुंगेन बस्ने वर्ष २४ को पिटर तामाङ र प्रदेश ३–०३–००१ प ४४३४ न.को मोटरसाइकलका चालक मकवानपुर मनहरी गापा ६ बिजौना बस्ने वर्ष २४ को निरज राना प्रजा रहेका छन् ।
प्रदेश ३–०३–००१ प ४४३४ न.को मोटरसाइकल पछाडि सवार मनहरी ७ बिजौना बस्ने वर्ष २४ को विसाल प्रजाको टाउकोमा चोट अवस्था गम्भीर भएपछि थप उपचारको लागि चितवन तर्फ पठाइएकोमा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा शुक्रबार २१ः३० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । निरज राना प्रजा प्रहरीको नियन्त्रणमा रहेका छन् ।