लक्षित वर्गमा स्थानीय तहको लगानी
सुर्खेतको चौकुने गाउँपालिकाले अघिल्लो कार्यकालमा वार्षिक बजेटका केही अंशबाहेक अधिकांश हिस्सा पूर्वाधार निर्माणमा खर्च गरेको छ। ग्रामीण सडक निर्माण तथा स्तरोन्नति, पालिकाको प्रशासनिक भवन र अरू भौतिक संरचनाहरूमा ठूलो बजेट खर्च गरिएको जनाइएको छ। अघिल्ला आर्थिक वर्षहरूमा लक्षित वर्गका लागि विनियोजित केही बजेटसमेत रकमान्तर गरेर पूर्वाधार निर्माणमा लगाइएको छ। भौतिक पूर्वाधार पनि अति आवश्यक भएकाले विगतका वर्षमा नीति, कार्यक्रम र बजेटमा प्राथमिकतामा पर्दापर्दै सामाजिक विकासका क्षेत्रमा लगानी केही कम भएको पालिकाले जनाएको छ।
उज्यालो पोखरा बनाउन ‘हाइमास्ट’ बत्ती
पोखरा सहरलाई झिलिमिली बनाउन सडकमा ‘हाइमास्ट सडक बत्ती जडानको गरिएको छ। पोखरा महानगरपालिकाले यहाँका सडकलाई सुरक्षित र झिलिमिली बनाउन बत्ती जडान थालनी गरेको हो। महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएपछि पोखराको जिरो किमिमा हाइमास्ट बत्तीको शिलान्यास गरिएको छ। महानगरका अनुसार बत्ती जडानको काम शनिबारदेखि सुरु भएको छ। ‘उज्यालो पोखरा’ कार्यक्रमअन्तर्गत पोखराको जिरो किलोमिटर चोकमा ‘हाइमास्ट बत्ती जडान गरेर परीक्षण पनि गरिएको छ। पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरु गरेको महानगरले जनाएको छ। तिहारसम्ममा ‘हाइमास्ट’ र स्मार्र्ट सडक बत्ती जडानको काम सक्ने लक्ष्य राखिएको थियो। विभिन्न कारणले ढिलाइ भएको भए पनि माघसम्ममा बत्ती जडानको काम पूरा गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ।
याक र चौँरीमा परजीवी नियन्त्रण
पाँचथरको फालेलुङ गाउँपालिकास्थित उच्च पहाडी र हिमाली भेगमा पालिएका याक र चौँरीमा लाग्ने आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको छ। फालेलुङ गाउँपालिका र स्थानीय चौँरी पालक किसान समूहको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको हो। फालेलुङ गाउँपालिकाले फालेलुङ–४ को फालौट क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमअन्र्तगत यस क्षेत्रका याक, चौँरी र उराङ गरी ३५० वटा जनावरलाई आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि औषधि सेवन गराइएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमूख छिरिङ सेर्पाले जानकारी दिनुभयो।
तीन खण्डका ठेकेदारलाई कारबाहीको चेतावनी
राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत पर्ने तीनवटा खण्डको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। थपिएको म्यादभित्र पनि निर्माण कम्पनी योजना सम्पन्न गर्न कार्यस्थलमा परिचालन नभएपछि ठेक्का तोड्ने र कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्नेसम्मको प्रक्रिया आयोजनाले अगाडि बढाएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो। पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले योजनामा काम गर्न नआएपछि प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो।
लुम्बिनी प्रदेश सभामा एमाले ठूलो दल
लुम्बिनी प्रदेश सभा प्रत्यक्षतर्फको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश सभामा रहेका ५२ सिटमध्ये एमाले कुल १८ सिट जितेर पहिलो ठूलो दल बनेको हो। नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो ठूलो दल बनेको छ। नेकपा ( माओवादी केन्द्र)ले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ। लुम्बिनी प्रदेश सभातर्फका सबै सिटको नतिजा सार्वजनिक भइसकेको छ।
अतिक्रमित संरचना हटाइँदै
नेपालगञ्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन डोजर लगाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफैँ डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किनुभएको छ । नेपालगञ्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको छ । यस्ता अतिक्रमण हटाउन प्रमुख विष्ट आफैँ अगाडि सर्नुभएको हो । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको विष्टले बताउनुभयो ।
मोरङमा खुम्चियो एमाले
मोरङमा वाम लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका चार स्थानमध्ये तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको छ। क्षेत्र नं. २ मा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएकी कांग्रेस नेत्री सुजाता कोइराला भने पराजित हुनुभएको छ। २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ डाक्टर मीनेन्द्र रिजाल मात्र विजयी हुनुभएको थियो। त्यसैगरी प्रदेश सभामा चारवटा स्थानमा जितेको कांग्रेसले यो पटक भने प्रतिनिधि सभामा तीन र प्रदेश सभामा पाँचवटामा जित निकालेको छ।
मत घटे पनि एमाले नै पहिलो
यो निर्वाचनमा पनि धनकुटामा नेपाल कम्युनिस्ट पार्टी एमाले ठूलो दल बन्न सफल भएको छ। समानुपातिकतर्फ सङ्घमा २९ हजार चार सय सात मत प्राप्त गर्दै ठूलो दल बनेको हो तर २०७४ सालको निर्वाचनमा भन्दा यो मत कम हो। अघिल्लो पटक एमाले ३० हजार नौ सय ४७ मत पाएर पहिलो दल बनेको थियो। यो पटक एमालेले एक हजार पाँच सय चालीस मत कम प्राप्त ग-यो।
पुगेन मतदाता शिक्षा
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा एक मतका कारण हार–जित हुन्छ। त्यसैले निर्वाचनमा हरेक मतलाई मूल्यवान् मानिन्छ। यही मतका निम्ति राज्यले अर्बौँ रुपियाँ खर्चेको हुन्छ तर महोत्तरीमा चारवटै निर्वाचन क्षेत्रको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको मतगणनामा सोह्र हजारभन्दा बढी मत बदर भेटिएको छ।