स्याङ्जा क्षेत्र नं. २ मा मतगणना अनिश्चित, मतपेटिकामा मुसा लाग्ने डर
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट देशका प्रायः सबै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। कसले सरकार बनाउने र को प्रधानमन्त्री हुने भन्ने चर्चा जताततै छ। तर, स्याङ्जा क्षेत्र नं. २ को मतगणना भने अझै अनिश्चित छ। मतदाताले प्रदान गरेको मत वालिङ नगरपालिका कार्यालयको बन्द कोठामा राखिएको छ। प्रत्यक्ष र समानुपातिक मतपेटिका फरक–फरक ठाउँमा थन्क्याएपछि नेकपा (एमाले)ले सडकमा आन्दोलन गरिरहेको छ। जसका कारण मतगणना अलपत्र परेको हो। मतपेटिका राखिएका कोठाहरू बाहिरबाट चापी लगाएर सिल गरिएको छ। नेपाली कांग्रेस, एमालेलगायतको दलका प्रतिनिधिहरूकै उपस्थितिमा कोठा सिल गरिएको हो। मतपेटिका राखिएको कोठाबाहिर सशस्त्र प्रहरी र जनपद प्रहरीले कडा सुरक्षा दिइरहेका छन्।
सुदूरपश्चिमकी एक्ली महिला सांसद
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका ११ महिलामध्ये एक जना मात्रै निर्वाचित हुनुभएको छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुनुभएको हो। उम्मेदवार भएका अन्य सबै महिला नेत्री पराजित हुनुभएको थियो। प्रदेशभरिबाट जम्मा १३७ जनाको उम्मेदवारी परेको थियो। जसमध्ये ११ जना उम्मेदवार महिला (८ प्रतिशत) हुनुहुन्थ्यो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीले कैलाली–१ बाट विजयी हुनुभएको हो।
जोगबुढामा नहर बनाइँदै
डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुढाका खेतमा सिँचाइ गर्न एक करोड ६० लाख रकम खर्च गरेर नहर निर्माण भइरहेको छ। जोगबुढा क्षेत्रको परशुराम नगरपालिका–५, परीगाउँमा एक करोड २० लाख रुपियाँ लागतमा परीगाउँ सिँचाइ योजना निर्माणको काम भइरहेको छ। चालू आर्थिक वर्ष २०७९/८० मा १० किलोमिटर लामो नहर निर्माण गरेर परीगाउँको तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने योजनासहित सिँचाइ योजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ कार्यालय डडेल्धुराले जानकारी दिएको छ।
स्वास्थ्यजन्य फोहोर व्यवस्थापन
नेपालगञ्ज क्षेत्रको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा देखिएको समस्या अब रहने छैन । एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि सो समस्या समाधान हुने भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–२३, हिरमिनियास्थित ल्यान्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।
विद्युत् लाइन विस्तारमा उल्झन
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार कार्य निकै सुस्त देखिएको छ। निर्माणको काम थालेको लामो समय भइसक्दा पनि आयोजनाले अपेक्षित प्रगति गर्न सकेको छैन। विद्युत् प्रसारण लाइन आयोजनाले काम सुरु गरेको अढाई वर्ष भइसक्दा हालसम्म ३० प्रतिशत मात्रै प्रगति भएको छ। मुआब्जा विवाद र रुख कटानको उल्झनले सो कार्य सुस्त भएको हो।
धान–गहुँ फल्ने खेतमा अब बेसारखेती
कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भ
लयमा फर्किए व्यायामशाला
दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरू कोरोना कालमा थला परे। कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरू जिम छिर्न छोडेका थिए। कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर अब भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन्। फिटनेस सेन्टरहरूको मुख्य याम फागुनदेखि सुरु भएर कात्तिकमा सकिन्छ तर विराटनगरमा भने अहिले जाडो मौसममा पनि चलिरहेको छ। कोरोनाले थलिन बाध्य बनाएका फिटनेस सेन्टर त्यसैको ज्ञानले भरिदिएको ऊर्जाका कारण जाडो मौसममा पनि उत्तिकै चल्ने अवस्थामा पुगेको सञ्चालकहरूको बुझाइ छ।
चिसो बढेसँगै उधौली झरे भेडीगोठ
गर्मी याममा हिमाली भेगमा राखिएका भेडागोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झर्न थालेका छन्। जाडो बढेकाले भेडागोठहरू तल्लो भेगमा झारिएको साल्मेको जङ्गलमा भेटिएका ओखलढुङ्गाका भेडापालक व्यवसायी जितबहादुर गुरुङले बताउनुभयो। सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरूले पुस्तौँअघिदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसायजस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसमअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने भेडापालक बताउँछन्।
एक सय मत नपाउने बाह्र उम्मेदवार
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारमध्ये १२ उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गर्नुभएको छ। जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा गरी ६४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो।