• १३ असोज २०८१, आइतबार

कोहलपुर–सुर्खेत १३२ केभीए

विद्युत् लाइन विस्तारमा उल्झन

blog

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर १४ गते । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार कार्य निकै सुस्त देखिएको छ। निर्माणको काम थालेको लामो समय भइसक्दा पनि आयोजनाले अपेक्षित प्रगति गर्न सकेको छैन। विद्युत् प्रसारण लाइन आयोजनाले काम सुरु गरेको अढाई वर्ष भइसक्दा हालसम्म ३० प्रतिशत मात्रै प्रगति भएको छ। मुआब्जा विवाद र रुख कटानको उल्झनले सो कार्य सुस्त भएको हो।

सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूको विद्युत् समस्या हल गर्न एक मात्र विकल्प ठानिएको उक्त प्रसारण लाइन विस्तारमा ढिलाइ भएको हो। लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो। ठेक्का सम्झौता भएपछि आयोजनाले कानुनी प्रक्रियामै धेरै झन्झट बेहोर्नुप¥यो। संरचना निर्माणपूर्वका कानुनी उल्झन र विभिन्न अवरोधका कारण लक्ष्यअनुसार प्रगति हासिल हुन नसकेको जनाइएको छ। सुरुवातदेखि नै अनेकौँ बाधा आइलाग्दा पूर्वाधारको काममा ढिलो भएको आयोजना प्रमुख रविकुमार चौधरीले बताउनुभयो। काम सुरु गर्दा बीचमा कुनै अवरोध नभए प्रसारण लाइनका संरचना बनाएर सुर्खेतसम्म विद्युत् लाइन पु¥याउन दुई वर्ष लाग्ने बताइएको थियो। यो बीचमा थुप्रै अवरोध आएकाले अझै ७० प्रतिशत काम गर्न बाँकी रहेको हो।

विद्युत् लाइन विस्तारका लागि संरचना निर्माण गर्ने जग्गाको मुआब्जा विवाद र सो क्षेत्रमा पर्ने रुख कटानको अनुमति लिनुपर्ने प्रक्रियामा धेरै समय लागेको छ। मुआब्जा विवादमा स्थानीयको अवरोध अहिले पनि कायमै छ। बाँकेको वैजनाथ गाउँपालिकाको चिसापानी क्षेत्रमा स्थानीयले अहिले पनि लाइन विस्तारको काममा अवरोध जारी राखेका छन्। जग्गाको उचित मूल्याङ्कन गरेर मुआब्जा दिलाउन पहल नगरिएको बताउँदै उनीहरूले अवरोध गरेका छन्। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पनि कतिपय ठाउँमा मुआब्जासम्बन्धी विवाद छ। निजी जग्गाको मुआब्जा वितरण प्रक्रियामा सहमति भए कामले गति लिने आयोजनाको दाबी छ। 

आयोजना प्रमुख चौधरीले भन्नुभयो, “विद्युत् लाइन विस्तार क्षेत्रमा पर्ने जग्गाको मुआब्जा दिन हामी तयार छौँ। जग्गा प्राप्तिको कार्य ढिलो हुँदा नौ स्थानमा टावर निर्माणको काम रोकिएको छ।”

आयोजनाका अनुसार रुख कटानको अनुमति पाए पनि काम भने थालिएको छैन। अबको केही दिनमा सुर्खेत डिभिजन वन कार्यालयअन्तर्गत पर्ने रुखहरू हटाउने तयारी गरिएको छ। रुख कटानका लागि सहमति भइसकेकाले ठेक्का सम्झौता गरेर काम अघि बढाउन लागिएको हो। सुर्खेत डिभिजन वनको क्षेत्रमा पर्ने रुख कटानको काम तीन/चार दिनमा सुरु गरिने आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो। प्रसारण लाइन विस्तार गर्दा बाँके राष्ट्रिय निकुञ्जको ५० प्रतिशत र सुर्खेत डिभिजन वनको ५० प्रतिशत वन क्षेत्रका रुख कटान गर्नुपर्ने हुन्छ।

कोहलपुर–सुर्खेत ५२ किमि प्रसारण लाइनको धेरैजसो भूभाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ। आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्नेछ। वन क्षेत्रमा रुख कटान र संरचना विस्तारको काम अघि बढ्ने भए पनि टावर निर्माणका लागि जग्गा प्राप्तिमा भने अझै उस्तै समस्या छ। अवरोधहरू तत्कालै हटे अबको डेढ वर्षमा सुर्खेतसम्म लाइन विस्तार गरिसक्ने लक्ष्य लिइएको छ। विस्तारित क्षेत्रमा १६२ वटा फाउन्डेसन निर्माण गर्नुपर्नेमा ६० वटाको काम सम्पन्न भएको छ। सबस्टेसन निर्माणको काम पनि छिट्टै सुरु गरिने जनाइएको छ। भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टले ७० करोड रुपियाँ लागतमा आयोजना निर्माणको जिम्मा लिएको छ।