जनार्जन खत्री
सर्लाही, चैत १२ गते । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि जिल्लाभर ३५ वटा परीक्षा केन्द्र कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले गत वर्षको भन्दा तीनवटा कम परीक्षा केन्द्र कायम गरेको हो ।
यो वर्ष जनहित मलभोगिया माध्यमिक विद्यालय बरहथवा ५ हात्तीडण्डा, मुक्तेश्वर गणेश रामसखी माध्यमिक विद्यालय बरहथवा ९ मुर्तिया र जनता माध्यमिक विद्यालय धनकौल ३ हरकठवा विद्यालयको परीक्षा केन्द्र हटाइएको छ ।
विद्यार्थी सङ्ख्या कम भएकाले यि तीनवटा विद्यालयमा यसअघि रहेको परीक्षा केन्द्र हटाइएको शिक्षा विकास तथा समन्वय ईकाइ मलङ्गवाका सूचना अधिकारी एवं शाखा अधिकृत सुनिल कुशवाहाले जानकारी दिनुभयो । यो वर्ष हटाइएकामध्ये जनता माध्यमिक विद्यालय धनकौलमा अघिल्ला परीक्षाहरुमा अनुशासन विपरीतका गतिविधिसमेत बारम्बार भएकाले पनि परीक्षा केन्द्र हटाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।
परीक्षा सञ्चालन निर्देशिकामा एउटा परीक्षा केन्द्रमा कम्तीमा ३०० विद्यार्थी रहनुपर्ने व्यवस्था छ । परीक्षा केन्द्र हटाइएका तीनवटा विद्यालयमा अघिल्लो वर्ष परीक्षा केन्द्र परेका विद्यालयहरुको परीक्षा केन्द्र यो वर्ष नजिकैको अर्को परीक्षा केन्द्रमा पारिएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी कुशवाहाले बताउनुभयो ।
चैत १९ गतेदेखि सञ्चालन हुन लागेको एसइइमा सर्लाहीबाट ११ हजार ३७१ परीक्षार्थी सामेल हुँदै छन् । नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ एक हजार ८६ परीक्षार्थी सामेल हुने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।