• १५ असार २०८१, शनिबार

स्याङ्जा क्षेत्र नं. २ मा मतगणना अनिश्चित, मतपेटिकामा मुसा लाग्ने डर

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १४ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट देशका प्रायः सबै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। कसले सरकार बनाउने र को प्रधानमन्त्री हुने भन्ने चर्चा जताततै छ। तर, स्याङ्जा क्षेत्र नं. २ को मतगणना भने अझै अनिश्चित छ। 

मतदाताले प्रदान गरेको मत वालिङ नगरपालिका कार्यालयको बन्द कोठामा राखिएको छ। प्रत्यक्ष र समानुपातिक मतपेटिका फरक–फरक ठाउँमा थन्क्याएपछि नेकपा (एमाले)ले सडकमा आन्दोलन गरिरहेको छ। जसका कारण मतगणना अलपत्र परेको हो। मतपेटिका राखिएका कोठाहरू बाहिरबाट चापी लगाएर सिल गरिएको छ। नेपाली कांग्रेस, एमालेलगायतको दलका प्रतिनिधिहरूकै उपस्थितिमा कोठा सिल गरिएको हो। मतपेटिका राखिएको कोठाबाहिर सशस्त्र प्रहरी र जनपद प्रहरीले कडा सुरक्षा दिइरहेका छन्। 

वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब निरीक्षक ढकेन्द्र खतिवडा र सशस्त्र प्रहरी ३० नम्बर गुल्मका प्रमुख राजनलाल श्रेष्ठ आफैँ मतपेटिकाको सुरक्षामा खटिँदै आउनुभएको छ। बन्द कोठाभित्र रहेको मतपेटिका र मतपत्रको अवस्था के कस्तो छ कसैलाई थाह छैन। हुन त मतपेटिका राखिएको कोठाहरूमा सीसी टीभी छ। प्रशासनको मुख्य चुनौती मतपेटिकाको सुरक्षा रहेको छ। मतपेटिकाहरू मुसाबाट समेत जोगाउनुपर्ने चुनौती पनि थपिएको छ।

मतपेटिका र मतपत्रको सुरक्षा अब दलका कार्यकर्ता र सुरक्षाकर्मीले मात्रै होइन, बिरालोको समेत सहारामा गरिनुपर्ने मतदाताको भनाइ छ। पालिकाको कार्यालयमा मुसाको समस्या त्यत्तिकै रहेको स्थानीय बताउँछन्। मुसाले मतपेटिका र त्यसभित्र रहेको पत्र काट्न सक्ने धेरैको अनुमान छ। 

वालिङ बजारको चोक–चोकमा जम्मा भएकाहरू भन्ने गर्छन्, “मतपेटिकालाई मुसाले काट्न बेर छैन, बिरालोलाई कुर्न पठाउन पर्ने भयो।” निरन्तर आन्दोलन गरिरहेका राजनीतिक दलहरू निरीह र गैरजिम्मेवार बनेको आरोपसमेत मतदाताले लगाउन थालेका छन्। 

चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी मतदान गरिएको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेको छ। कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ। दुवै दलको अडानका कारण सडकमा धर्ना जारी छ। 

चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङ्कोट, राममन्दिर, दिनदयालु, चिट्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो। निर्वाचन आयोगले यस क्षेत्रको विवादका बारेमा समयमा नै निर्णय नगर्दा मतदातासमेत आक्रोशित हुँदै गएका छन्। आयोगले छानबिनका लागि समिति गठन गरेको भए पनि तोकिएको समयमा प्रतिवेदन प्राप्त नभएकाले निर्णय गर्न सकेको छैन। यस क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको भन्दै मतदानमा खटिएका मतदान अधिकृतले रिपोर्ट दिएका बताइन्छ। 

यस्तै निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्लास्थित सुरक्षा निकायले पनि चुनावमा कुनै समस्या नआएको, सबै दलको रोहवरमा नै मतपेटिका सुरक्षित तरिकाले कार्यालयमा ल्याई राखिएको प्रतिवेदन दिएको स्रोतले जनाएको छ। 

मतपेटिका कोठामा राख्ने बेलासम्म सबै दलको सहमति रहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो। आयोगको सिफारिसका आधारमा तत्कालै मतगणना वा विवाद उत्पन्न भएको ठाउँमा पुनः निर्वाचन भन्ने तय हुने आयोगले जनाएको छ।