काबुल, असार २७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कमजोर सरसफाइ अवस्था कारण छिमेकी राष्ट्रहरूबाट निर्वासित अफगान आप्रवासीहरूमा सङ्क्रामक रोगहरूको बढ्दो फैलावटको बारेमा चेतावनी जारी गरेको खामा प्रेसले जनाएको छ ।
डब्लुएचओले बढ्दो स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न चिकित्सा स्रोत र कर्मचारी क्षमता बढाउन आवश्यक रहेको कुरामा जोड दिएको छ । डब्लुएचओले छिमेकी राष्ट्रहरूबाट निर्वासित हुनेहरूमा श्वासप्रश्वासको सङ्क्रमण, छालाजन्य रोग र सन्दिग्ध कोभिड–१९ मामिलाहरूमा वृद्धि भएको रिपोर्ट गरेको छ ।
प्रमुख सीमा बिन्दुहरू विशेषगरी हेरात प्रान्तको इस्लाम कालामा गरिएको स्थलगत परीक्षणले श्वासप्रश्वासको सङ्क्रमण र डिहाइड्रेसन बढेको देखाएको छ । विशेष गरी निर्वासित बच्चा र वृद्धहरूमा अफगान आप्रवासीहरूमा कोभिडका घटनाहरू धेरै रिपोर्ट गरिएको छ । रोगहरूको फैलावटको प्रतिक्रियामा डब्लुएचओले इस्लाम काला र स्पिन बोल्डक सीमा विन्दुमा स्थानीय स्वास्थ्य अधिकारीहरूको सहयोगमा आपत्कालीन स्वास्थ्य स्क्रिनिङ र सामूहिक खोप अभियानहरू सुरु गरेको छ ।
यी पहलहरू थप प्रकोपहरू रोक्न र कमजोर मानिसहरूलाई महत्त्वपूर्ण हेरचाह प्रदान गर्न सुरु गरिएको छ । डब्लुएचओका अनुसार इस्लाम काला सीमा बिन्दुमा आठ हजार सात सयभन्दा बढी बालबालिकाले मौखिक पोलियो खोप र आठ हजार तीन सयभन्दा बढी व्यक्तिले इन्जेक्टेबल पोलियो खोपहरू प्राप्त गरेका छन् । उच्च जोखिममा रहेका सीमावर्ती क्षेत्रहरूमा हजारौँ निर्वासित बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको खामा प्रेसले जनाएको छ ।
स्पिन बोल्डक, तोरखाम र इस्लाम काला लगायत प्रमुख सीमा विन्दुहरूमा करिब २९ हजार मानिसलाई स्क्रिनिङ वा खोप लगाइएको छ । डब्लुएचओका मोबाइल स्वास्थ्य टोलीहरूलाई स्वागत केन्द्र र शून्य-बिन्दु सीमाहरूमा तैनाथ गरिएको छ र उनीहरूले फर्केका सयौँको दैनिक स्वास्थ्य जाँचहरू गरिरहेका छन् ।
डब्लुएचओले सङ्क्रामक रोगको लक्षण देखाउने आठ सय ४० भन्दा बढी व्यक्ति पहिचान गरेको छ । तीमध्ये सबैले तत्काल चिकित्सा सेवा प्राप्त गरेका छन् । यसले बढ्दो स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न चिकित्सा स्रोत र कर्मचारी क्षमता बढाउन आवश्यक रहेको कुरामा जोड दिएको खामा प्रेसले जनाएको छ ।
छिमेकी राष्ट्रहरूद्वारा निर्वासित अफगान आप्रवासीहरूको सङ्ख्या बढ्दै जाँदा डब्लुएचओले ठूलो मात्रामा रोगको प्रकोप रोक्न र सङ्कटमा फर्केका मानिसहरूलाई पर्याप्त हेरचाह प्रदान गर्न आवश्यक कोष र समन्वित प्रयासहरू विस्तार गर्न आह्वान गरेको छ । रासस/एएनआई