• २८ असार २०८२, शनिबार

काठेखोलाको बजेट खर्च ९१ प्रतिशत

blog

काठेखोला गाउँपालिकाको भाडा रहेको भवन । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), असार २७ गते । बागलुङको काठेखोला गाउँपालिको चालु आर्थिक वर्ष २०८१-०८२ मा ९१ प्रतिशत बढी बजेट खर्च गरेको छ । 

गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालन अन्तर्गत चालु र पुँजीगत दुबैमा गरी कुल ९१ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले विनियोजित ५८ करोड ७७ लाख २३ हजार रुपियाँ स्वीकृत बजेटमा ५३ करोड ५९ लाख २२ हजार आठ सय ७५ रुपियाँ ३० पैसा खर्च भएको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत कार्कीले चालुतर्फ ९१ दशमलव ३९ प्रतिशत र पूँजीगततर्फ ९० दशमलव ७३ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले ४० करोड ६६ लाख रुपियाँ चालु बजेटमा ३७ करोड १५ लाख ९८ हजार एक सय ९८ रुपियाँ ३० पैसा र पुँजीगततर्फ १८ करोड ११ लाख २३ हजार रुपियाँ बजेटमा १६ करोड ४३ लाख २४ हजार छ सय ७७ रुपियाँ खर्च भएको बताउनुभयो । 

बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी, टोल विकास संस्था, निर्माण व्यवसायी, राजनीतिक दल लगायतको सक्रिय भूमिकाबाट उक्त परिमाणमा खर्च गर्न गाउँपालिका सफल भएको प्रमुख प्रशासकीय अधिकृत कार्कीको भनाइ छ । 

यस्तै गाउँपालिकाले चालु आर्थिक वर्षमा ७१ लाख ९४ हजार ४४ रुपियाँ ४७ पैशा राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले वडा नं. १ पालामा ५ लाख ४० हजार ८ सय १४ रुपियाँ, वडा नं. २ भीमापोखरामा ७ लाख २२ हजार १ सय ९८ रुपियाँ, वडा नं. ३ धम्जामा ६ लाख ८ हजार पाँच सय ४७ रुपियाँ, वडा नं. ४ तंग्राममा ९ लाख २८ हजार चार सय ९० रुपियाँ र वडा नं. ५ बिहुँमा ९ लाख ८ हजार तीन सय ५३ रुपियाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी मनोज कार्कीले जानकारी दिनुभयो । 

सूचना अधिकारी कार्कीले वडा नं. ६ बिहुँबाट ६ लाख ६९ हजार ६२ रुपियाँ, वडा नं. ७ रेशबाट १० लाख ३६ हजार एक सय २९ रुपियाँ, वडा नं. ८ लेखानीमा ७ लाख ७२ हजार एक सय ६१ रुपियाँ र गाउँपालिका कार्यालयमा १० लाख ८ हजार दुई सय ८६ रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो ।

गाउँपालिकाले व्यवसाय दर्ता, नविकरण, कृषि फर्म, फलफूल फर्म, कृषक, कुटानीपिसानी मिल सञ्चालक, घरेलु ब्लक उद्योग दर्ता नवीकरण, हेभी इक्युमेन्ट ठूलो क्जाभेटर सूचीकृत, इन्टरनेट सेवा प्रदायक कम्पनी दर्ता नवीकरण, उद्योग दर्ता नविकरण र सिफारिसबाट राजस्व सङ्कलन गरेको सूचना अधिकारी कार्कीको भनाइ छ ।