• २८ असार २०८२, शनिबार

गिरिजाबाबु र ‘नोबेल प्राइज’

blog

केही दिनअघि पुराना मित्र वासु बाबुसँग कुराकानी भयो । सन्दर्भ थियो गिरिजाबाबुको जन्म दिनको । त्यही बेला नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै थियो । बैठकको मारामारका बिच कांग्रेसले गिरिजाबाबुलाई कसरी सम्झियोस् वा सम्झिन आवश्यक ठानेन, त्यो थाहा हुन सकेन । तथापि वासु बाबुसँग गिरिजाबाबुकै सन्दर्भमा कुराकानी भएको थियो ।

खास गरी गिरिजाबाबु र उहाँलाई नोबेल शान्ति पुरस्कारका लागि नेपाल सरकारले मनोनयन गरेको सिफारिसका बारेमा उहाँसँग कुराकानी भएको थियो । वासु बाबु अर्थात् वासुदेवप्रसाद गौतम । नेपाल सरकारको मनोनयन सिफारिसपत्र अनि नर्वेजियन दूतावासको समेत कागजपत्र बोकेर नर्वे पुग्नुभएको व्यक्ति, उहाँ अर्थात् वासुदेव गौतम नै हो । हजुरबाको पुस्तादेखि न्र प्रजातन्त्रप्रति अगाध आस्था भएको परिवारका एक सदस्य हुनुहुन्छ वासुदेव । बिपीको सङ्गत अनि कोइराला परिवारसँगको निकट सहयोगी यो परिवारले काठमाडौँमा रहेर कांग्रेसका हरेक लोकतान्त्रिक आन्दोलनमा तन, धन र मनले सकेसम्मको सहयोग गरेको छ । त्यसबापत गर्व र आत्मसन्तुष्टि मात्रै उहाँको परिवारले पाएको छ । सूक्ष्म र उचित मूल्याङ्कन गर्न पार्टीले भ्याएको छैन । वासुदेव बाबु पछिल्लो समयमा गिरिजाबाबुसँग अत्यन्तै निकट र विश्वासपात्र रहनुभयो । गिरिजाबाबुलाई नोबेल पुरस्कारका लागि मनोनयन सिफारिसपत्र बोकेर नर्वे पुग्नुभएका वासुबाबुसँग लामो समयपछि यहीबारेमा कुराकानी भएको थियो । २०६६ सालमा तत्कालीन नेपाल सरकारले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको थियो । नर्वेजियन नोबेल कमिटीमा गिरिजाबाबुलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयनका सबै प्रक्रिया पूरा भएको थियो ।

त्यसपछि न नेपाल सरकारले त्यसका लागि पहल गर्‍यो न त पार्टीले चासो नै लियो । आज त्यो प्रसङ्ग पुरानो भइसकेको छ । असार १८ गते गिरिजाबाबु जन्मिएको दिन हो । हामी यति स्वार्थी भइसकेका छौँ कि उहाँलाई सम्झिने भनेकै उहाँ जन्मिएको दिन अनि मृत्यु भएको दिन मात्रै हुने गरेको छ । हामी स्वार्थी मात्रै भएनौँ बरु राजनीतिक भाषामा भन्ने हो आज हामी राजनीति गर्छौं भन्नेहरू धेरै नै कृतघ्न भइसकेका छौँ । इतिहासलाई दुत्कारेर न हामी वर्तमानलाई राम्रो बनाउन सक्छौँ न त भविष्यको उज्यालो निम्त्याउन सक्छौँ । २०६२/६३ को जुन परिवर्तन थियो त्यो वास्तवमै नेपाल मात्र होइन विश्व राजनीतिक इतिहासकै एउटा अद्भूत घटना थियो । त्यसलाई हामीले जसरी सामान्य हिसाबले लियौँ, आज त्यसको परिणाम हामीले दुई दशकमै फेरेको व्यवस्थाप्रति यति धेरै घृणा र असन्तुष्टि जन्माइसकेका छौँ ।

नेपाल मात्रै होइन त्यो बेला संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख इयान मार्टिनले पनि गिरिजाप्रसादबाबुलाई शान्तिका ऐतिहासिक नायक भनेका थिए । विश्वले नै पाठ सिक्नुपर्ने मौलिक अनि पृथक् शान्ति प्रक्रियाकाबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि प्रशंसा गरेका थिए । २०६३ सालको जनआन्दोलनको सफलता र लोकतन्त्रको पुनर्बहालीपछि केही समय गिरिजाबाबु अन्तरिम रूपमा राष्ट्रप्रमुख अनि सरकार प्रमुखसमेत हुनुभयो । त्यो बेला भारत भ्रमणमा जानु भएका कोइरालालाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले समेत ‘एसियाकै महान् नेता’ भनेर सम्मान गर्नुभएको थियो । यो सम्मान मात्रै गिरिजाबाबु वा उहाँको राजनीतिक विरासतलाई थिएन, त्यो सम्मान सिङ्गो नेपाल र नेपाली अनि सिङ्गो विश्वका लागि सन्देश थियो– गिरिजाबाबु शान्ति, सहमति र लोकतन्त्रको महान् नायक हो । 

जसले लोकतन्त्रसँग कहिल्यै सम्झौता गर्न जानेन । जो निरङ्कुशता, हरेक राजनीतिक वादका उग्रता अनि शक्तिकेन्द्रसामु कहिल्यै झुक्न जानेन । बरु उसले आफ्नो ज्यान नै दाउमा लगायो तर जनताका अधिकारसँग कहिल्यै कुनै शक्तिसँग सम्झौता गर्न जानेन । त्यसैको परिणाम बरु नेपालको इतिहासबाट एउटा वंशानुगत शासकीय परम्पराको इतिहास नै मेटियो तर उसले जनताका अधिकार र सार्वभौमिकतालाई स्थापित गरेरै छोड्यो । भलै आफू जिन्दगीको उत्तरार्धमा राजनीतिक कोपभाजनको सिकार भयो । त्यस्तो महान् राजनीतिक हस्ती हो गिरिजाबाबु । जीवनको अन्तिम पलसम्म उहाँसँगसँगै भएका कारण यो कुनै भावविह्वल भएर लेखिएका शब्द होइनन्, इतिहासमा यी अङ्कित छन् र सदा रहने छन् । गिरिजाबाबुका ती कर्मका जिउँदा साक्षीहरू अहिले पनि जीवितै छन्/छौँ ।

उहाँको महानतालाई हामीले जानेर वा नजानेर दुत्कार्दै आयौँ । सायद नेपाल सरकार अनि कांग्रेससँगै पनि ती प्रमाण छैनन् होला । उहाँलाई चाहनेहरूले ती सबैको दस्ताबेजीकरण गरेर राखेका छौँ । जति प्रतिस्पर्धी पार्टीले गिरिजाबाबुलाई जति सम्झने गर्छन् कांग्रेसले उति नै बिर्सिंदै गएको छ । सम्झिनुपर्ने गिरिजाबाबु मात्रै एक व्यक्ति वा नाम मात्रै होइन, बरु गिरिजाबाबु नेपाली प्रजातान्त्रिक आन्दोलन र परिवर्तनको एक निर्णायक इतिहास पनि हो । विश्वमा चिनिएको एक अजर, अमर शान्तिको सर्वोच्च शिखर पनि हो । २०६३ साल वैशाख ११ गते पुनस्र्थापित प्रतिनिधि सभाले राजाका सारा अधिकार कटौती गरेर तत्कालीन ‘राजा’ ज्ञानेन्द्र शाहलाई ‘निलम्बन’ गरेको थियो । राजा निलम्बन अर्थात् ‘अधिकारविहीन’ भएको अनि राष्ट्रपति नभइसकेको त्यो समय गिरिजाबाबु राष्ट्राध्यक्षका रूपमा हुनुहुन्थ्यो । अर्थात् प्रथम नागरिक राष्ट्राध्यक्ष ।

नेपालको राजनीतिक इतिहासमा त्यो पहिलो पटक भइरहेको जहाँ एक सामान्य नागरिक राष्ट्रप्रमुख र सरकार प्रमुख भएर राजकाज चलाइरहेको थियो । विश्व राजनीतिक इतिहासमा पनि त्यो अलि दुर्लभ अनि मौलिक तरिका थियो । माओवादीलाई पनि संसदीय राजनीतिमा ल्याउन गिरिजाबाबुले आफ्नो सारा राजनीतिक जीवन नै दाउमा लगाउनुभएको थियो । ‘गणतन्त्र’ को बटमलाइनबाट टसमस नभइरहेको माओवादी १० वर्षसम्म राज्यविरुद्ध लडेर आएको एउटा विद्रोही राजनीतिक पार्टी थियो । लामो समय हतियार युद्ध लडेको पार्टीलाई समाल्न आफैँमा धेरै चुनौती थिए । त्यसमा पनि ‘राजा फाल्ने’ विषय भनेको कम्ती चुनौतीपूर्ण थिएन । राजा राख्ने कि नराख्ने भनेर दलहरू आफैँमा विभाजित थिए । माओवादी जसरी भए पनि राजा फाल्ने जिद्दीमा थियो । अरू पार्टीहरू ‘हो’ मा ‘हो’ मिलाउँथे । सबैले त्यसका लागि ‘गिरिजाबाबु’ को निर्णय पर्खिरहेका थिए । त्यसका बारेमा गिरिजाबाबु खुलेर बोल्नुभएको थिएन ।

त्यसअघि नै माओवादी झस्किसकेको थियो । २०६२ साल कात्तिक ७ गते सात तत्कालीन राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबिच भएको १२ बुँदे समझदारीमा ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेर लेखिएको थियो । त्यो बुँदामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मनाउन निकै धौ–धौ भएको थियो । त्यसका लागि गिरिजाबाबुले निकै मेहनत गर्नुभयो । प्रचण्ड जी त ‘त्यो हुँदै हुन्न’ भनेर सात पटकसम्म संवाद छोड्नुभएको थियो । गिरिजाबाबुले ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेकै ‘राजतन्त्रको अन्त्य’ हो भनेर व्याख्या गर्नुभयो । ऐतिहासिक शान्ति सम्झौताको प्रस्थान विन्दु मानिने त्यो १२ बुँदे समझदारीको ३ नम्बर बुँदामा यस्तो लेखिएको छ । यही बुँदामा उल्लेख गरिएको ‘निरङ्कुश राजतन्त्र अन्त्य’ भन्ने ठाउँमा ‘राजतन्त्रको अन्त्य’ मात्रै लेख्न चाहन्थ्यो माओवादी । आज पनि त्यही आधारमा २०६२/६३ को जनआन्दोलनको राजतन्त्रकै अन्त्य गर्ने मनसाय थिएन भन्ने भाष्यहरू निर्माण भएका छन् ।

गिरिजाबाबुले त्यो बेला निकै सोचीसम्झी त्यो शब्द राख्नुभएको थियो । २४० वर्षसम्म अविछिन्न एउटा शासक वर्गकै अन्त्य कम्ता चुनौतीपूर्ण थिएन । देश आन्तरिक ‘गृहयुद्ध’ ले थिलथिलो भइसकेको थियो । गिरिजाबाबु थप रक्तपात नहोस् भन्नेमा सजग हुनुहुन्थ्यो । रक्तपात चाहनुभएको थिएन । सिधै राजा र राजसंस्थाकै अन्त्य गर्ने भनिएपछि त्यसबाट अनेकथरि प्रतिक्रान्ति हुन सक्थ्यो वा रक्तपात हुन सक्थ्यो । सदियौँदेखि दरबारप्रति बफादार र उत्तरदायी भएर बसेको नेपाली सेनाभित्रै त्यसले विद्रोह पनि निम्त्याउन सक्थ्यो । गिरिजाबाबुले निकै चलाखीपूर्वक बिनारक्तपात शान्तिपूर्ण ढङ्गबाट एउटा इतिहासको पाना नै च्युत गरिदिनुभयो । एक सफल राजनेताको गुण भनेको यस्तो हुनु पर्छ, जसले अप्ठेरोमा मुलुकलाई निकास दिन सक्यो । त्यसैले त लोकतान्त्रिक आन्दोलनका सशक्त हस्ती अनि नेपाली राजनीतिका अमर शिखरपुरुष भनिएको हो गिरिजाबाबुलाई । उहाँले आफ्नो सारा राजनीतिक जीवन दाउमा लगाएर नेपालको आफ्नै मौलिकता र विशेषता बोकेको शान्ति प्रक्रियाको सुरुवात गर्नुभएको थियो । शान्ति प्रक्रियाका सुरुवाती साक्षी अहिले पनि जीवितै हुनुहुन्छ, अझै राजनीतिमा सक्रिय हुनुहुन्छ । यद्यपि शान्ति प्रक्रियाका कतिपय काम बाँकी नै छन् । तथापि यतिबेला फेरि हामी उहाँलाई मरणोपरान्त भए पनि नोबल शान्ति पुरस्कारका लागि पहल गरौँ । उहाँको राजनीतिक योगदानलाई एउटा जीवन्त इतिहासमा परिणत गरौँ । यो उहाँप्रति एउटा सच्चा श्रद्धाञ्जली हुने छ, एउटा राजनीतिक दायित्व पनि पूरा हुने छ । यो हाम्रो राष्ट्रका लागि ऐतिहासिक एवं महìवपूर्ण गौरवको विषय हुने छ ।

विश्वका कतिपय विवादित व्यक्तिले पनि नोबेल पुरस्कार पाएको इतिहास छ । ल्याटिन अमेरिकाका देशहरूमा असफल साबित शान्ति प्रक्रियाका लागि समेत पश्चिमा देशहरूबाट नोबेल पुरस्कार पाएका छन् । किनकि उनीहरूसँग शक्ति थियो, पहुँच थियो र पहल थियो । नेपालको शान्ति प्रक्रिया त आफैँमा एक मौलिक प्रयोग र प्रयास थियो । जो सफल पनि भइसकेको छ । माओवादी हिंसा, सहज, शान्त र सफल अवतरण कम्ता चुनौतीपूर्ण थिएन । तथापि आफ्ना सारा राजनीतिक जीवनलाई दाउमा लगाएरै भए पनि गिरिजाबाबुले माओवादीसँग सम्झौता गर्न तयार हुनुभयो । त्यो भनेको उहाँको व्यक्तिगत महत्वाकाङ्क्षा थिएन बरु जनताको चाहनाबमोजिम उहाँले आफूले आफैँलाई व्यक्तिगत र सैद्धान्तिक रूपमा पनि बदल्नुभएको थियो । जसका कारण देश युद्धको दलदलबाट निस्कियो । छिमेकी राष्ट्र भारतले नौ वटा नोबेल पुरस्कार भित्र््याइसकेको छ । यद्यपि भारतकै एक महान् शान्तिकामी नेता महात्मा गान्धीलाई चार चार पटक मनोनयन गर्दासमेत नोबेल पुरस्कार दिइएन । उत्तरी छिमेकी चीनले छ पटक नोबेल जितिसकेको छ । बङ्लादेशले दुई र पाकिस्तानले समेत एक पटक नोबेल पाइसकेको छ । अझै पनि समय छ । मरणोपरान्त नोबेल पुरस्कार दिइएका इतिहास पनि छन् । यसमा सबै मिली पहल गरौँ ।

त्यसका लागि कांग्रेसले फेरि प्रयास किन नगर्ने ? यसतर्फ हाम्रो नेतृत्वको ध्यान दिन जरुरी छ । इतिहास भनेको हिजोको एउटा घटना वा परिघटना मात्रै होइन, इतिहासले वर्तमान चिनाउँछ र भविष्यको बाटो उघार्ने हो । कांग्रेसलाई चाहने लाखौँ कार्यकर्ता र शुभेच्छुक आज लोकतान्त्रिक समाजवादको राजनीतिक धारमा आउन चाहने नयाँ पुस्ताका लागि पनि इतिहासका यस्ता महान् राजनेताको पहिचान जीवन्त राख्नु आवश्यक छ । हामीले इतिहास र इतिहास लेखाउनेहरूलाई भुल्दै गयौँ भने हामी कहीँका रहन्नौँ । कांग्रेस मात्रै होइन यो दायित्व अरू राजनीतिक दलहरूको पनि हो । जसरी उहाँले आफ्नो पूरै राजनीतिक जीवनलाई यही शान्तिका लागि दाउमा लगाउनुभयो त्यसको गुन तिर्न भए पनि त्यो बेलाका सबै सहकर्मी राजनीतिक दल अनि नेताहरूले समेत त्यसका लागि भूराजनीतिक पहलदकमी उठाउन अब ढिला नगरौँ । 

राजनीति हो, समय सबैको आउँछ । पालो सबैको आउँछ । नेपालको राजनीति त्यतिसम्म पनि कृतघ्न छैन कि एकले अर्काको अस्तित्वै स्वीकार नगरोस् । नेपालीको समग्र राजनीतिभित्र रहेको यो मौलिक राजनीतिक संस्कार अनि यसको विशेषतालाई मर्न दिनु हुँदैन । गिरिजाबाबुले सुरु गरेको शान्तिको यात्रालाई फेरि एक पटक नोबेलको यात्रासम्म पुर्‍याएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न आवश्यक छ ।