रमेश रावत
अछाम, असार २६ गते । अछाममा एक विद्यालयका शिक्षकले आफूले तलब नपाएको भन्दै प्रश्न पत्र कब्जा गरेपछि विद्यालयको परीक्षा रद्द भएको छ । पन्चदेवल विनायक नगरपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयको आज हुने भनिएको विज्ञान विषयको परीक्षा रद्द भएको हो ।
कक्षा ६ देखि १० कक्षा सम्मको त्रैमासिक परीक्षाको प्रश्न पत्र उक्त विषय शिक्षक दमन बुढाले तलब नपाएको भन्दै विद्यालयमा दिन नमान्दा परीक्षा रद्द भएको विद्यालयका प्रधानाध्यापक श्याम बहादुर धामीले जानकारी दिनुभयो । विज्ञान विषयका शिक्षक बुढाले ५ महिना देखि तलब नपाएकोले प्रश्न पत्र उपलब्ध गराउन नमानेका हुन ।
बिहान ११ बजेका लागि तोकिएको परीक्षामा विद्यार्थीहरू कक्षा कोठामा प्रवेश गरिसक्दा समेत प्रश्न पत्र प्राप्त नहुँदा एक घण्टा ढिलो गरी सामाजिक विषयको परीक्षा लगिएको हो । विज्ञान विषयको परीक्षा भने अन्योल छ ।
विज्ञान विषयको परीक्षाको तयारी गरेर गएका विद्यार्थीले सामाजिक विषयको परीक्षा दिनुपर्दा समस्या भएको बताएका छन् ।