काठमाडौँ, जेठ ५ गते । नेपाल प्रहरीले नागरिक केन्द्रित, प्रविधिमैत्री तथा उत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै “नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५” सार्वजनिक गरेको छ । बदलिँदो अपराध प्रवृत्ति, प्रविधिको तीव्र विकास र नागरिक अपेक्षालाई सम्बोधन गर्ने लक्ष्यसहित तयार गरिएको यो योजना आगामी तीन वर्षमा संगठनात्मक रूपान्तरण गर्ने दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ ।
रणनीतिक योजना सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई परम्परागत पुलिसिङ (प्रहरी सेवा) बाट बाहिर निकालेर आधुनिक, वैज्ञानिक र प्रविधिमा आधारित संगठनका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले अबको प्रहरी सेवा विश्लेषणात्मक सोच, तथ्यआधारित निर्णय प्रणाली र डिजिटल प्रविधिमा आधारित हुने स्पष्ट पार्नुभयो ।
महानिरीक्षक कार्कीका अनुसार संगठनको वर्तमान अवस्था, कमजोरी, अवसर र चुनौती पहिचान गर्न 'स्वोट'विश्लेषण गरिएको छ । बदलिँदो विश्व परिवेश, प्रविधिको तीव्र विकास र नागरिकका बढ्दो अपेक्षालाई केन्द्रमा राखेर योजना निर्माण गरिएको उहाँको भनाइ छ । उहाँले योजना तयार पार्नुअघि कानुनविद्, मानवअधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षाविज्ञ तथा सरोकारवालासँग व्यापक छलफल गरिएको जानकारी दिँदै नागरिक सुझावलाई आधार बनाएर संगठनलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य लिइएको बताउनुभयो ।
योजनामा डिजिटल फरेन्सिक, साइबर अपराध अनुसन्धान, संगठित अपराध नियन्त्रण तथा आर्थिक अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ । विशेष गरी सम्पत्ति शुद्धीकरण, अन्तरदेशीय अपराध तथा वित्तीय अपराध नियन्त्रणका लागि अनुसन्धान क्षमता र प्राविधिक दक्षता सुदृढ गरिने प्रहरीले जनाएको छ ।
महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान प्रणालीले अहिलेका जटिल र प्रविधिआधारित अपराध नियन्त्रण गर्न नसक्ने भएकाले प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, विशेष तालिम तथा प्रविधिको विस्तार अनिवार्य भएको बताउनुभयो । उहाँका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल फरेन्सिक उपकरण तथा आधुनिक अनुसन्धान प्रणालीको उपयोगलाई विस्तार गरिने छ ।
योजनाअनुसार नागरिकका गुनासा, उजुरी तथा सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत दर्ता, अनुगमन र समाधान गर्ने व्यवस्था विस्तार गरिने छ । सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाउन एकीकृत डिजिटल प्लेटफर्म विकास गरिने योजना छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य संवेदनशील समूहका लागि विशेष सेवा प्रणाली विकास गरिने छ । घरेलु तथा लैङ्गिक हिंसाका पीडितका लागि संवेदनशील र पहुँचयोग्य सेवा विस्तार गर्ने, महिला प्रहरीको परिचालन वृद्धि गर्ने तथा समुदायमा आधारित सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउँदै अपराध रोकथाममा समुदायको सक्रिय सहभागिता बढाइने रणनीतिमा उल्लेख छ । ‘हटस्पट’ आधारित प्रहरी परिचालन, समस्याकेन्द्रित सेवा प्रणाली तथा वैज्ञानिक अपराध विश्लेषणलाई प्राथमिकतामा राखिएको छ ।
रणनीतिक योजनामा नीति तथा योजना, शान्ति सुरक्षा, अपराध अनुसन्धान, मानव स्रोत विकास, पूर्वाधार तथा सूचना प्रविधि गरी सात प्रमुख क्षेत्र समेटिएका छन् । यी क्षेत्रमार्फत संगठनको संरचनागत सुधार, दक्ष जनशक्ति विकास र प्रविधि विस्तार गर्ने लक्ष्य राखिएको छ ।
महानिरीक्षक कार्कीले योजना कार्यान्वयनका लागि सरकारको सहयोग, पर्याप्त बजेट, नीतिगत निरन्तरता र प्रविधिगत लगानी आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षदेखि योजना चरणबद्ध रूपमा लागू गरिने छ । योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक, त्रैमासिक तथा वार्षिक समीक्षा प्रणाली लागू गरिने छ । साथै डिजिटल ट्र्याकिङ प्रणालीमार्फत प्रगति अनुगमन गर्ने व्यवस्था मिलाइने प्रहरीको भनाइ छ ।
कार्यक्रममा नायब महानिरीक्षक अवि नारायण काफ्ले र राजेन्द्र प्रसाद भट्टले योजनाका उद्देश्य, कार्यान्वयन रणनीति तथा चुनौतीबारे प्रस्तुति दिनुभएको थियो । प्रस्तुतिमा बदलिँदो अपराध प्रवृत्ति र प्रविधिको प्रभावलाई ध्यानमा राख्दै संगठनात्मक सुधार अपरिहार्य रहेको उल्लेख गरिएको थियो ।
नेपाल प्रहरीले यो रणनीतिक योजना “नवप्रवर्तन, इमानदारी र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण” भन्ने मूल नारासहित कार्यान्वयन गर्ने जनाएको छ ।