राधा लुइटेल
फिदिम, जेठ ५ गते । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जेठ १३ र १४ सञ्चालन हुने शिविर निःशुल्क हुने छ ।
कुम्मायक गाउँपालिका सँगको सहकार्यमा आयोजना गर्ने शिविरमा २५ जना विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीहरूले सेवा दिने नेपाली सेनाको वीरदल गणका गणपति किशोर अधिकारीले जानकारी दिनुभयो ।
शिविर नेपाली सेनाको वीरदल गणको व्यवस्थापन, पूर्वाञ्चल सेवा हेल्थ एन्ड रिसर्च सेन्टर, २९ बाहिनी अड्डा हेक्वाटर, २९ बाहिनी अड्डा अस्पताल इटहरी र फिल्ड एम्बुलेन्स गुल्मको सहभागिता रहने अधिकारीले बताउनुभयो ।
शिविरमा कुम्मायक, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकासँगै फिदिम नगरपालिकाका कुल २ हजार बढी नागरिकलाई सेवा दिइने कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले बताउनुभयो ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा सामान्य चिकित्सा सेवा, सर्जरी, बालरोग, स्त्रीरोग, छाला तथा यौनरोग, हड्डी तथा जोर्नी रोग, नाक–कान–घाँटी रोग, आँखा तथा दन्त सेवा उपलब्ध गराइने छ ।
शिविरमा भिडियो एक्स–रे, इसिजी, प्रयोगशाला परीक्षण, निःशुल्क औषधी वितरण तथा परामर्श एवं जनचेतनामूलक कक्षा सञ्चालन गरिने तयारी छ ।