एडिस अबाबा (अफ्रिका) जेठ ५ गते । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) सङ्गो लोकतान्त्रिक गणतन्त्र (डिआरसी) र युगान्डामा बढ्दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।
मुख्यतया देशको मोङ्ग्वालु, रुवाम्पारा र बुनिया स्वास्थ्य क्षेत्र, साथै युगान्डाको कम्पालामा ३९५ वटा सङ्क्रमणका घटनामा १०६ जना सङक्रमितको मृत्युको रिपोर्ट गरिएपछि स्वास्थ्य आपतकालको आधिकारिक घोषणा गरेको जनाइएको छ । एजेन्सीले प्रकोप तिव्र रूपमा बढ्दै गएको जनाउँदै यस रोगका लागि हालसम्म कुनै पनि विशिष्ट खोप तथा उपचार उपलब्ध नभएकाले उच्च जोखिम युक्त रहेका बताएको छ ।
अफ्रिका सिडिसीका महानिर्देशक जिन कासेयाले यो घोषणाले क्षेत्रीय समन्वयलाई बलियो बनाउन, आपतकालीन स्रोत परिचालन गर्न र सङ्क्रमणको जोखिममा रहेका छिमेकी देशमा तयारी प्रयासलाई गति दिन मद्दत गर्ने बताउनुभएको छ । अफ्रिका सिडिसीले तीव्र सीमापार आवागमन, प्रभावित क्षेत्रमा असुरक्षा र कमजोर सङ्क्रमण नियन्त्रण उपायले क्षेत्रीय फैलावटको जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । आपसमा जोडिएका देशमा बुन्डिबुग्यो इबोला भाइरसको पुष्टिले अफ्रिकाको स्वास्थ्य सुरक्षा सङ्कटमा रहेको पुष्टि भएको बताउँदै कासेया एजेन्सीले पहिले नै आपतकालीन प्रतिक्रिया टोली तैनाथ गरेको जनाएको छ । रासस/सिन्ह्वा