काठमाडौँ, जेठ ५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई नै आधार बनाएर सरकारले आफ्नो नीति तथा कार्यक्रम, विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याएको उल्लेख गर्नुभयो । त्यसलाई विपक्षी दलहरूले आफ्नो अनुकूल बनाउन अर्को निर्वाचन कुर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सरकार जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार अनुसार अघि बढिरहेको जिकिर पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो । किनभने हामीले निर्वाचन लड्नुभन्दा अगाडि रूपान्तरणका सय आधारहरू भनेर वाचापत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदित गरेको कुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्गचित्र नै हाम्रो नीति तथा कार्यक्रम र अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो । अब आफ्नै भाषा र आफ्नै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव नै कुर्नुपर्ला ।”
अर्थमन्त्री वाग्लेले सरकारले शासकीय सुधारका मार्गचित्र पनि जनताको भावना अनुसार नै अघि बढाएको स्पष्ट पार्नुभयो ।