• ५ जेठ २०८३, मङ्गलबार

सडक मापदण्ड मिचेर भवन निर्माण

blog

सडक अतिक्रमण गरेर भवन निर्माणका लागि एक्साभेटरमार्फत काम गर्दैगर्दा भत्कियो सडक । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ ५ गते । कालीकोटको खाँडाचक्र नगरपालिकाले आफ्नो प्रशासकीय भवन राष्ट्रिय सडक मापदण्ड मिचेर निर्माण गर्न थालेको पाइएपछि काम रोक्न दोस्रो पटक पत्राचार भएको छ ।

नगरपालिकाले राष्ट्रिय सडकको राइट अफ वे अतिक्रमण गरी भवन निर्माण सुरु गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । साथै सडक डिभिजन कार्यालय जुम्लाले तत्काल काम रोक्न दोस्रो पटक पत्राचार समेत गरेको छ । यता नगरपालिकाले काम नरोकेका कारणले मान्म बजार पहिरोको जोखिममा परेको छ । 

लगातार तलबाट जग खनिरहँदा पहिरो झर्दा माथिको आरसिसी सडक भत्किएर बजारका घरहरू जोखिममा परेका छन । यसअघि गत वर्ष पनि जग खन्ने क्रममा पहिरो झर्दा १३ घर जोखिममा परेका थिए । 

सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ अनुसार सडक अतिक्रमण भएको भन्दै सडक डिभिजन कार्यालय जुम्लाले तत्काल काम रोक्न निर्देशन दिएको कार्यालय प्रमुख श्रवणकुमार महताराले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रमा भविष्यमा सडक विस्तार गर्दा सरकारी संरचना भत्काउनुपर्ने अवस्था आउने भएकाले राष्ट्रिय मापदण्ड अनुसार निर्माण दोस्रो पटक पत्राचार गरेर निर्देशन दिइएको छ । 

तर नगरपालिकाले अझै काम नरोकेको महताराले बताउनुभयो । यता काम नरोक्ने यता पहिरो झरेर घर जोखिममा छ । यस्तो बेला प्रशासन समेत उसैको पक्षमा उभिएको कार्यालय प्रमुख महताराको भनाइ छ । “राष्ट्रिय सडक मापदण्डअनुसार संरचना निर्माण गर्नुपर्छ । तर नगरपालिकाले मापदण्ड विपरित प्रशासकीय भवन निर्माण सुरु गरेको देखिएको छ” महताराले भन्नुभयो ।

वैशाख १६ गते पहिलो पटक र २८ गते दोस्रो पटक सडक डिभिजनले पत्राचार गरे पनि हालसम्म निर्माण कार्य जारी रहेको छ । दुई वटा एक्साभेटर प्रयोग गरी फाउन्डेसन खन्ने काम भइरहेको छ । यसैको कम्पनले माथिल्लो बजारको आरसिसी सडक भत्किएर घर जोखिममा छ । 

स्थानीय युवा हिक्मतजङ्ग मल्लले कि आफै जान्नु कि अरुको भनेको मान्नु यही सडकले गर्दा १ वर्षसम्म जनताले सास्ती भोग्नुपर्छ । हामीले श्रमदान गरेर सडक बनायौँ, फेरि अर्को तर्फको सडक उही अवस्थामा पुगेको छ । सरकारी अनुरोध अस्वीकार गर्ने र जनताका घर पहिरोको जोखिममा पारेर नगरपालिकाले भवन बनाउने चाहना राख्नु गलत भएको मल्लको भनाइ छ ।