अमरराज नहर्की
तनहुँ, जेठ ५ गते । पृथ्वी राजमार्गका होटल तथा पसलहरूमा म्याद नाघेका र अखाद्य वस्तु मिसावट गरिएका खाद्य सामग्रीहरू बिक्री हुँदै आएको पाइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्ले फाँटमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाद्य पसलहरूमा सोमबार देखि सुरु गरिएको बजार अनुगमनका क्रममा यो तथ्य फेला परेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली, आँबुखैरेनी गाउँपालिका, इलाका प्रहरी कार्यालय आँबुखैरेनी र उद्योग वाणिज्य संघ सत्रसय बजार इकाईको संयुक्त टोलीले पृथ्वी राजमार्गको यस क्षेत्रका होटल तथा पसलहरूको निरीक्षण गरेको थियो ।
अनुगमन टोलीले ११ वटा होटल र दुई वटा किराना पसल गरी १३ वटा व्यवसायको अनुगमन गर्दा सबैमा कमजोरी फेला पारेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योती आचार्यले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा म्याद नाघेका मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरू बरामद गरिएको छ । आचार्यका अनुसार म्याद नाघेका र अखाद्य वस्तु बिक्री गर्नेहरूलाई प्रचलित कानुन अनुसार कारबाही गरिनेछ । व्यवसायीहरूलाई सरसफाइ र खाद्य स्वच्छता सुधार गर्न सात दिनको म्याद दिइएको छ ।
अनुगमनका क्रममा केमिकल (रसायन) मिसाइएको ४० लिटर चुक अमिलो नियन्त्रणमा लिएर नष्ट गरिएको छ । स्वास्थ्यलाई गम्भीर असर पार्ने यस्तो चुक अमिलो केही समय अघि दमौलीमा नष्ट गरिएकोमा एउटा गिरोहले पुनः आँबुखैरेनी ल्याएर बिक्री गर्ने गरेको पाइएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
अनुगमनकर्ताले नियन्त्रणमा लिएर नष्ट गरेका म्याद नाघेका खाद्य वस्तुहरूको बजार मूल्य १८ हजार पाँच सय रुपियाँ बराबर रहेको छ । अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने टोलीले जनाएको छ ।