• ४ जेठ २०८३, सोमबार

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर

काठमाडौँ, जेठ ४ गते । नेकपा (एमाले)को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । 

एमाले उपमहासचिव लेखराज भट्टले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “आज भएको एउटै के हो भने महत्त्वपूर्ण निर्णय पूर्व राष्ट्रपतिको सदस्यता दिने निर्णय भएको छ ।” उहाँले एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमा बस्ने पनि जानकारी दिनुभयो ।  

आजको बैठकमा महासचिव शङ्कर पोखरेलले विभिन्न दस वटा एजेन्डा प्रस्तुत गर्नुभएको छ । उहाँका अनुसार आजको बैठकमा पदाधिकारीहरूको वरियता निर्धारण सम्बन्धी प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारका काम र क्रियाकलापका सन्दर्भ, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यको कार्यविभाजन, संविधान संशोधन सुझाव कार्यदल गठनका एजेन्डा प्रस्तुत भएका छन् ।

यसैगरी, निर्वाचनको समीक्षा प्रतिवेदन कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, सङ्गठन विभागको कामलाई तत्काल अघि बढाउनुपर्ने लगायतका विषयमा उठेका छन् । यी विषयमा एमालेको अर्को सचिवालय बैठकले छलफल गरेर निर्णय गर्ने उहाँको भनाइ छ ।